कतार विश्वकप २०२२

इरानको रोमाञ्चक जित

दोहा । इन्जुरी समयमा गरेको दुई गोलमा वेल्समाथि २–० को सनसनीपूर्ण जितका साथ इरानले कतार विश्वकप २०२२ को नकआउट चरण प्रवेश गर्ने सम्भावना जीवत राखेको छ ।

इन्जुरी समयको आठौं मिनेटमा रुज बेहचेस्मीले गरेको गोलमा इरानले अग्रता लिएको थियो । इन्जुरी समयको ११औं मिनेटमा रामिह रेजाइनले इरानका लागि दोस्रो गोल गरेका थिए ।

पहिलो खेलमा इङ्ल्यान्डलाई ६–२ को नतिजा सुम्पिएको इरानले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको वेल्सलाई निराश पारेको हो । समूह बी मा इरानको दुई खेलमा तीन अंक छ भने एक खेल खेलेको शीर्ष स्थानको इङ्ल्यान्डको पनि तीन अंक छ । अमेरिका र वेल्सको समान एक अंक छ ।

यस हारसँगै पहिलो खेलमा अमेरिकासँग १–१ को बरारबी खेलेको वेल्सको अघिल्लो चरण प्रवेशको सम्भावना न्युन बनेको छ ।

८६ औं मिनेटमा वेल्सका गोलकिपर वाइन हेन्सी रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि वेल्सले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । मेहदी तरेमीमाथी खराब फाउल गरेपछि  रेफ्रीले भिएआरको सहायतामा उनलाई रातो कार्डको दर्शन गराएका थिए ।

यसअघि १६औं मिनेटमा अली गोल्जादेहदले गरेको गोलमा इरानले अग्रता लिएको थियो । तर भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड भएको भन्दै सो गोलले मान्यता पाएन ।

आजै हुने समूह बी को दोस्रो खेलमा इङ्लयन्डले अमेरिकाको सामना गर्नेछ ।