बेल्जियम

लुकाकु प्रशिक्षणमा फर्किए

दोहा । बेल्जियमका प्रशिक्षक राबर्टो मार्टिनेजले स्ट्राइकर रोमेलु लुकाकु प्रशिक्षणमा फर्किए पनि मोरोक्कोविरुद्ध हुने समूह चरणको दोस्रो खेलमा मैदान उत्रने सम्भावना नरहेको बताएका छन् ।

कतार विश्वकपअन्तर्गत समूह एफ मा रहेको बेल्जियमले क्यानडामाथि १–० को जितसहित सुखद सुरुआत गरेको थियो । 

इन्टर मिलानका लुकाकु च्याम्पियन्स लिगअन्तर्गत भिक्टोरिया प्लिजेनविरुद्धको खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । पूर्णरुपमा फिट नभए पनि मार्टिनेजले उनलाई टोलीमा राखेका थिए । उनी क्यानडाविरुद्धको खेलमा पनि मैदान उत्रिएका थिएनन् ।

लुकाकु क्रोएसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा भने मैदान उत्रने सम्भावना रहेको छ । लुकाकु बेल्जियका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । 

‘आज लुकाकु प्रशिक्षणमा फर्किएका छन् । यो टोलीका लागि सुखद खबर हो’,मार्टिनेजले भने, ‘यद्धपी मोरोक्कोविरुद्धको खेलमा उनी मैदान उत्रने सम्भावना न्युन छ । आशा छ क्रोएसियाविरुद्धको खेलमा उनी टोलीमा हुनेछन् ।’