क्रिस्टियानो रोनाल्डो

रोनाल्डो अझै शीर्ष लिग खेल्ने क्षमता राख्छनः सिल्भा

दोहा । पोर्चुगलका बर्नाडो सिल्भाले कप्तान क्रिस्टियानो रोनाल्डो अझै पनि युरोपका शीर्ष लिगहरु खेल्ने क्षमता राख्ने बताएका छन ।

यद्धपी सिल्भाले आगमी यात्राको बारेमा निर्णय लिने रोनाल्डोकै हातमा रहेको बताए । बिहीबार घनामाथि ३–२ को जित निकालेको खेलमा रोनालडोले पेनाल्टीमा पोर्चुगलका लागि पहिलो गोल गरेका थिए । सो गोलसँगै उनी विश्वपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बने । 

२००६ को जर्मन विश्वकपदेखि लगातार गोल गर्ने क्रमलाई निरन्तरता दिने क्रममा कप्तान रोनाल्डोले बिहीबार पेनाल्टीलाई गोलमा परिणत गर्दै पोर्चुगलको खाता खोले । यससँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ ।

पोर्चुगलका लागि आठ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा उनले सबैमा गोल गर्ने कीर्तिमान पनि राखेका छन् । पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानमा पनि नाम लेखाएका रोनाल्डोको एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गोल पुगेको छ ।

विश्वकपमा क्यामरुनका रोजर मिल्लापछि सबैभन्दा बढि उमेरमा गोल गर्ने कीर्तिमान पनि ३७ वर्षे रोनाल्डोले बिहीबारको पेनाल्टी गोलसँगै आफ्नो नाममा लेखाएका छन् । मिल्लाले विश्वकप १९९४ मा रुसविरुद्ध ४२ वर्षको उमेरमा गोल गरेका थिए ।

जर्मनी २००६ मा पहिलो पटक विश्वकप खेल्ने क्रममा इरानविरुद्ध गोल गरेका रोनाल्डोले दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपको समूह चरणको खेलमा उत्तर कोरियाविरुद्ध गोल गरेका थिए । ब्राजिलमा २०१४ मा भएको विश्वकपमा घानाविरुद्ध एक गोल गरेका उनले चार वर्षअघि रुसमा भने चार गोल गरेका थिए । रुस २०१८ मा समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोविरुद्ध एक गोल गरेका थिए ।

रोनाल्डोले सोमबार मात्र तत्कालबाट लागु हुने गरि म्यानचेस्टर युनाइटेड छोडेको घोषणा गरेका थिए । 

रोनाल्डोले गत साता एक अन्तरवार्तामा क्लबका केही पदाधिकारी र प्रशिक्षक इरिक टेन हाग आफ्नो विपक्षमा रहेको दाबी गरेका थिए ।

रोनाल्डो सन् २००३ मा १८ वर्षको उमेरमा ओल्ड ट्राफोर्ड भित्रिएका थिए । युनाइडेडमा ६ वर्ष बिताएका रोनाल्डोले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यसपछि उनी रियाल मड्रिड गएका थिए । रियालमा १२ वर्ष बसेका रोनाल्डो युभेन्टस हुँदै दुई गत सिजन ओल्ड ट्राफोर्ड फर्किएका थिए ।

युनाइटेड फर्किएको पहिलो सिजन उनले प्रिमियर लिगको ३० खेलमा १८ गोल गरेका थिए ।

‘अब कुन लिग र कुन क्लबबाट खेल्ने निर्णय रोनाल्डोकै निर्णयमा निर्भर छ’, सिल्भाले भने, ‘क्लबले पनि उनलाई सम्झौताको प्रस्ताव गर्न प¥यो । उनी अहिले कुनै पनि क्लब रोज्न स्वतन्त्र छन् । एउटा कुरा के दाबी गर्न सक्छु भने उनी अझै पनि शीर्ष लिग खेल्न क्षमता राख्छन् । म उनको निर्णयको सम्मान गर्छु ।’