प्रिभ्यु

जित लय कायम राख्ने इङ्ल्यान्डको लक्ष्य

दोहा । एसियाली प्रतिद्धन्द्धी इरानमाथि ६-२ को जितसहित कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको इङ्ल्यान्ड आज समूह बी को दोस्रो खेलमा अमेरिकाको सामना गर्दा सोही लय कायम राख्न चाहन्छ ।

अमेरिकामाथिको जितले इङ्ल्यान्डको समूह बी को विजेताको रुपमा नकआउट चरण प्रवेश गर्ने सम्भावना थप सहज बन्नेछ । 

कुर्कुच्चाको चोट गम्भिर नभएसँगै कप्तान ह्यारी केन अमेरिकाविरुद्धको खेलमा पनि उपलब्ध हुनेछन् । इरानविरुद्धको खेलमा कुुर्कुच्चाको चोटका कारण मैदानबाट बाहिरिएका केनले अमेरिकाविरुद्धको खेल खेल्ने वा नखेल्ने दुबिधा थियो । तर परिक्षणमा कुनै समस्या नदेखिएसँगै उनी अभ्यासमा फर्किसकेका छन् । यद्धपी घुँडाको चोटका कारण जेम्स म्याडिसन भने मैदान उत्रने सम्भवना न्युन छ ।

इङल्यान्डले पछिल्लो चार खेलमा १९ गोल गरेको छ । त्यसैले गारेथ साउथगेटको टोली सो लय अमेरिकाविरुद्ध पनि कायम राख्न चाहन्छ । 

पहिलो खेलमा वेल्ससँग १-१ को बराबरीमा रोकिएको अमेरिका जारी विश्वकपको पहिलो जितको खोजीमा रहेको छ । अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा अमेरिका अंक बाँड्न बाध्य भएको थियो । 

अमेरिकी टोलीमा भने कुनै पनि खेलाडीमा चोटको समस्या छैन ।