कतार विश्वकप २०२२

रोनाल्डोले कीर्तिमान बनाएको दिन पोर्चुगलको विजयी सुरुआत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३-२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ ।

२००६ को जर्मन विश्वकपदेखि लगातार गोल गर्ने क्रमलाई निरन्तरता दिने क्रममा कप्तान रोनाल्डोले बिहीबार पेनाल्टीलाई गोलमा परिणत गर्दै पोर्चुगलको खाता खोले । यससँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ ।

पोर्चुगलका लागि आठ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा उनले सबैमा गोल गर्ने कीर्तिमान पनि राखेका छन् । पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानमा पनि नाम लेखाएका रोनाल्डोको एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गोल पुगेको छ ।

विश्वकपमा क्यामरुनका रोजर मिल्लापछि सबैभन्दा बढि उमेरमा गोल गर्ने कीर्तिमान पनि ३७ वर्षे रोनाल्डोले बिहीबारको पेनाल्टी गोलसँगै आफ्नो नाममा लेखाएका छन् । मिल्लाले विश्वकप १९९४ मा रुसविरुद्ध ४२ वर्षको उमेरमा गोल गरेका थिए ।

जर्मनी २००६ मा पहिलो पटक विश्वकप खेल्ने क्रममा इरानविरुद्ध गोल गरेका रोनाल्डोले दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपको समूह चरणको खेलमा उत्तर कोरियाविरुद्ध गोल गरेका थिए । ब्राजिलमा २०१४ मा भएको विश्वकपमा घानाविरुद्ध एक गोल गरेका उनले चार वर्षअघि रुसमा भने चार गोल गरेका थिए । रुस २०१८ मा समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोविरुद्ध एक गोल गरेका थिए ।

दोहाको रंगशाला ९७४ मा सुरुदेखि नै खेल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखे पनि पोर्चुगलले गोलका लागि ६५ मिनेटसम्म कुर्नुपरेको थियो । विपक्षी रक्षकले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरेपछि पोर्चुगलले खेलमा अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा मात्र पाँच गोल भएको खेलमा घानाले पोर्चुगललाई धेरैबेर खुसी मनाउन दिएन । २०१४ मा दुई टिम आमनेसामने हुँदा पनि मैदानमा उत्रिएका घानाका कप्तान आन्द्रे आयुले ७३औं मिनेटमा बराबरी गोल गरे ।

दोस्रो हाफमा घानाले सुधारिएको प्रदर्शन गरे पनि पोर्चुगलले नतिजा आफ्नो पक्षमा पारिछाड्यो । ब्रुनो फर्नान्डेजको पासमा जोआवो फेलिक्सले ७८औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता पुनस्थापित गरे ।

त्यसको दुई मिनेट नबित्दै फर्नान्डेजकै पासमा बैकल्पिक खेलाडी राफेल लियोले गोल गरेर पोर्चुगलको अग्रता ३-१ ले फराकिलो पारे । रुबेन नेभेसलाई स्थानान्तरण गरेर मैदान छिरेको तीन मिनेत नबित्दै लियोले गोल गरेका थिए ।

घानाका लागि समय सकिन एक मिनेट बाँकी रहँदा ओस्मान बुकारीले गोल गर्दै खेल ३-२ को अवस्थामा आएपछि खेलको रोमाञ्च अझै थपियो । तर त्यतिबेलासम्म खेलमा घानालाई अंक बाड्नका लागि ढिलो भइसकेको थियो ।

समूह ‘एच’मा दक्षिण कोरिया र उरुग्वेले केही बेरअघिमात्र गोलरहित बराबरी नतिजा निकालेको थियो । समूहको दोस्रो खेलमा सोमबार घानाले दक्षिण कोरिया तथा पोर्चुगलले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछन् ।