इतिहासमा विश्वकप

मिलोमतोका कारण विवादित विश्वकप

१९८२, स्पेन (१२औं विश्वकप)

जुन १३ देखि जुलाई ११ सम्म
सहभागी टोली- २४
खेलसंख्या- ५२
गोलसंख्या- १४६ (प्रति खेल २.८२ को औसतमा)
दर्शक- २१०९७२३ (प्रतिखेल ४०५७२ को औसतमा)
विजेता- इटाली
उपविजेता- पश्चिम जर्मनी
तेस्रो- पोल्यान्ड
चौथो- फ्रान्स
गोल्डेन जुत्ता- पाउलो रोसी 
उत्कृष्ट युवा खेलाडी- म्यानुअल अमारोस
फेयर प्ले- ब्राजिल

सन् १९८२ स्पेनमा भएको १२औं विश्वकप धैरै अर्थमा सम्झन् लायक रह्यो । यो विश्वकपमा पहिलो पल्ट अत्याधिक राष्ट्रको सहभागिता भयो । पहिलो पल्ट म्याच फिक्सिङ भएको आरोपमा रंगशालामै जर्मनीको झण्डा जलाउनेलगायतका काम भए । म्याच फिक्सिङको आरोप बेहोरेका पाउलो रोसी लगातार दोस्रो पल्ट सर्वाधिक गोल गर्ने खेलाडीमा दरिए ।

१२औं विश्वकपमा पनि जुन महादेशले विश्वकप आयोजना गरेको छ, त्यही महादेशको राष्ट्र विजयी हुने परम्परा कायमै रह्यो । यो विश्वकपमा युरोपका दुई राष्ट्र इटाली र पश्चिम जर्मनी फाइनल पुगेका थिए । जसमा इटाली ३-१ ले विजयी हुँदै तेस्रो पल्ट विश्वकप जित्न सफल भयो ।

यही विश्वकपमा पहिलो पल्ट सर्वाधिक २४ राष्ट्र समावेश थिए । यी देशलाई ६ समूहमा विभाजन गर्दे पहिलो र दोस्रो हुने टोलीलाई दोस्रो चरणमा प्रवेश गराइएको थियो । यस्तै, दोस्रो चरणमा पनि तीन/तीन वटा टिमलाई चार समूहमा विभाजन गरि राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गराइएको थियो ।

दोस्रो चरणको प्रतिस्पर्धाबाट सबै चार समूहका विजेतालाई सिधै सेमिफाइनलमा उतारिएको थियो । १२औं विश्वकपमा इटाली, पश्चिम जर्मनी, पोल्यान्ड र फ्रान्स सेमिफाइनल पुगेका थिए । सेमिफाइनलमा इटालीले जहाँ पोल्यान्डलाई २-० ले पराजित गर्यो, त्यही जर्मनीले पेनाल्टी सूटआउटमा फ्रान्सलाई ५-४ गोलले पराजित गर्यो । यी दुवैबीचको निर्धारित समयको खेल १-१ मा रोकिएको थियो । अतिरिक्त समयको खेलमा दुवै टोली ३-३ गोलमा रोकिएपछि पेनाल्टी सूटआउटबाट खेलको निर्णय निस्कियो ।

पहिलो लिग चरणको खेल त्यति पारदर्शी बन्न सकेन । त्यसको फाइदा अष्ट्रियाले जर्मनीबाट उठायो । यी दुवै टोलीले समूह २ को अन्तिम लिग खेल मिलेमतोमा खेलेपछि दोस्रो चरण प्रवेशको नजिक रहेको अल्जेरिया प्रतियोगिताबाटै बाहिरियो । यो खेलमा अष्ट्रियाले १ गोल मात्र खाए पनि दोस्रो चरणमा प्रवेश पाउने अवस्था थियो । जर्मनीले पहिलो हाफको १० मिनेटमै गोल गर्यो । त्यसपछि यी दुवै टोली मिलेर खेलेका थिए । अल्जेरियाली समर्थक यो घटनाबाट चकित परेका थिए । तर, जर्मन समर्थकहरुले आफ्नो टोलीको चर्तिकला देखेपछि रंगशालाभित्रै जर्मनीको राष्ट्रिय झण्डा जलाए ।

एसियाबाट छनोट भएको कुवेती खेलाडीहरुले फ्रान्सविरुद्धको समूह चरणको खेलमा तत्कालिन सोभियत संघका रेफ्री मिरोस्लाभ स्टुपरले विवादास्पद निर्णय दिएको भन्दै झन्डै मैदान छोडेर गएका थिए । खेल सञ्चालन भइरहेको बेला रेफ्रीको सिठीको आवाज सुनेर कुवेतका रक्षकले बीचैमा खेल रोकेको बेला फ्रान्सले गोल गर्न पुगेको थियो ।

यो घटनाको विरोध गर्दे कुवेती फुटबल संघका तत्कालिन अध्यक्ष राजकुमार फारिद रंगशालाको भिआइपी लाउन्जबाटै उत्रिएर विरोध जनाएका थिए । आठ मिनेट लामो विवादपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेका थिए । यो खेल फ्रान्सले ४-१ को अन्तरमा जितेको थियो ।

१२औं विश्वकपमा पुनः इटालीका पाउलो रोसी हिरो सावित भए । इटालीमा खेल मिलेमतोको आरोपमा २ वर्ष प्रतिबन्ध झेलेका रोसी अन्तिम समय टोलीमा समावेश भएका थिए । उनले आफ्नो उपस्थितिलाई सार्थक तुल्याउने क्रममा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

‘लिटिल लिपिङ जायन्ट’ को नामले चिनिने रोसीले यो विश्वकपमा कुल ६ गोल गरे, जसमा ब्राजिलविरुद्धको ह्याट्रिक यादगार रहयो । रोसीले सेमीफाइनलमा पोल्यान्डविरुद्ध दुई र फाइनलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए । इटालीका लागि ४० बर्षिय गोलरक्षक डिनो जोफ र १८ वर्षिय फुलब्याक गिउसेप बेर्गोमीको प्रर्दशन पनि सम्झन लायक रहयो ।

बेर्गोमी यही विश्वकपमार्फत सवैभन्दा युवा खेलाडीको रुपमा इटालीको विश्वकप टोलीमा समावेश भएका थिए । उत्तरी आइरल्यान्डका नोर्मन वाइटसाइड ब्राजिलका हस्ती पेलेको सवैभन्दा कम उमेरमा विश्वकप खेल्ने कीर्तिमान तोड्ने क्रममा १७ वर्ष ४१ दिनमा यही विश्वकपमा समावेश भए ।