कतार विश्वकप २०२२

स्पेनको प्रभावशाली सुरुआत, ६ फरक खेलाडीबाट गोल

काठमाडौं । फेरान टोरेजको दुई गोल प्रेरित पूर्व विजेता स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जितका साथ कतार विश्वकप २०२२ को सुरुआत गरेको छ । विश्वकप फुटबलको इतिहासमै यो स्पेनको सबभन्दा फराकिलो जित हो ।

दोहास्थित अल थुमामा रंगशालामा समूह ‘ई’को आफ्नो पहिलो खेलमा स्पेनले मध्य अमेरिकी प्रतिद्धन्द्धीविरुद्धको खेलमा पूर्ण नियन्त्रण राख्दै फराकिलो जित दर्ता गरायो । टोलीका लागि सात गोलमा ६ फरक खेलाडीले नाम लेखाए । स्पेनका लागि टोरेजले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को एसेन्सियो, गाबी, कार्लोस सोलर र अल्भारो मोराटाले एक/एक गोल गरे ।

ओल्मोले ११औं मिनेटमै अग्रता दिलाएको टोलीका लागि २१औं मिनेटमा जोर्डी अल्बाको पासमा एसेन्सियोले दोस्रो गोल गरे । ३१औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोरेजले पहिलो हाफमै टोलीको अग्रता ३-० को अवस्थामा पुर्याए ।

५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका टोरेजलाई प्रशिक्षक लुइस इनरिकेले ५७औं मिनेटमा अल्भारो मोराटाबाट स्थानान्तरण गराए । समय सकिन १५ मिनेट बाँकी रहँदा उनै मोराटाको पासमा गाबीले टोलीका लागि पाँचौं गोल गरे ।

बार्सिलोनाका १८ वर्षे किशोर मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोलसंख्या चार पुगेको छ । विश्वकपमा भने उनको यो पहिलो गोल हो ।

समय सकिन एक मिनेट बाँकी रहँदा सोलरले गोल गर्दै २०१० को च्याम्पियन टोलीलाई ६-० को अवस्थामा पुर्याए भने इन्जुरी समयको तेसे मिनेटमा ड्यानी ओल्मोको पासलाई गोलमा परिणत गर्दै मोराटाले टोलीको विजय अन्तर थप फराकिलो पारे ।

समूह ‘ई’मा बुधबारै यसअघि सम्पन्न खेलमा चार पटकको पूर्व विजेता जर्मनीलाई २-१ को नतिजामा स्तब्ध पार्दै एसियाली प्रतिनिधि जापानले विश्वकपको सुखद सुरुआत गरेको थियो ।

समूहको दोस्रो खेलमा आइतबार स्पेनले जर्मनी तथा जापानले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।