कतार विश्वकप २०२२

पहिलो हाफमै इङ्ल्यान्डको फराकिलो अग्रता

काठमाडौं । ज्युड बेलिङ्घम, बुकायो साका र रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले इरानविरुद्धको विश्वकप खेलमा पहिलो हाफसम्म ३-० को अग्रता लिएको छ ।

दोहाको अल बायात रंगशालामा बेलिङ्घमको गोलबाट इङ्ल्यान्डले ३५औं मिनेटमा अग्रता लिएको थियो ।  ल्युक शाको उत्कृष्ट क्रसलाई कसैको निगरानीमा नरहेका बेलिङ्घमले सहज हेड गोलमा परिणत गर्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए ।

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा ह्यारी म्यागुयरले ब्याक हेडबाट दिएको पासलाई देब्रे खुट्टाले कडा भलीमार्फत साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

पछिल्लो समय क्लबमा फर्म हासिल गर्न संघर्षरत स्टर्लिङले इन्जुरी समयमा गोल गर्दै स्कोरिङ फर्म फर्किएको संकेत गरे । उनले कप्तान ह्यारी केनको पासमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।

विपक्षी खेलाडी किरन ट्रिपियरसँग जुध्दा घाइते भएर इरानका पहिलो रोजाईका गोलकिपर सइद होसेन होसेइनीले २०औं मिनेटमा मैदान छोड्नु परेको थियो । नाकमा चोट लागेपछि मैदानमै धेरैबेर उपचार गरेपछि उनलाई स्ट्रेचारमा राखेर मैदानबाट बाहिर निकाल्नुपरेको थियो । उनको ठाउँमा अलिरेजा बेरान्भार्डले इरानको पोस्ट सम्हालिरहेका छन् ।

समूह ‘बी’को अर्को खेलमा आजै राति १२ः४५ बजे अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि समूह ‘ए’अन्तर्गत राति ९ः४५ बजे सेनेगल र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’अन्तर्गत आइतबार राति भएको विश्वकपको उद्घाटन खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरले आयोजक कतारमाथि २-० को जित हासिल गरेको थियो ।