कतार विश्वकप २०२२

युरोपेली टिमको ‘लभवान’ अभियान स्थगित

काठमाडौं । इङ्ल्यान्ड र अन्य युरोपेली देशका टोली विश्वकप कतार २०२२ दौरान आर्मब्यान्ड लगाएर ‘वानलभ’ अभियान सञ्चालन गर्ने योजनाबाट पछि हटेका छन् ।

आज साँझ समूह ‘बी’ अन्तर्गतको खेलमा इरानसँग खेल्ने तयारीमा रहेको इङ्ल्यान्डसँगै युरोपका अन्य ६ टिमले लैंगिक समानताको अभियानस्वरुप कतार विश्वकपमा ‘वानलभ’ आर्मब्यान्ड लगाउने बताएका थिए । तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाको चेतावनीपछि उनीहरुले यसो नगर्ने भएका हुन् ।

फिफाले कुनै देशले फुटबलमा केन्द्रित नभएर अन्य विषयलाई मैदानबाट प्रवद्र्धन गर्ने प्रयास गरे सम्बन्धित टिमका कप्तानमाथि कार्वाही गर्ने चेतावनी दिएपछि उनीहरु पछि हटेका हुन् ।

विदेशी कामदारको श्रम अधिकार हननको आरोप खेप्दै आएको कतारमाथि समलैंगिक, तथा अन्य लैंगिक अधिकारमाथि प्रतिबन्ध लगाएको आरोप छ । कतारमा एलजिबिटिक्यु समुदायको प्रवेशमै समेत रोक लगाइएको छ । तर, कतारी प्रशासनले भने कसैमाथि पनि कुनै भेदभाव नगरिएको प्रष्टोक्ति दिँदैआएको छ ।

इङ्ल्यान्डसँगै वेल्स, बेल्जियम, जर्मनी, डेनमार्क, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सका खेलाडीहरुले ‘वानलभ’ अभियानका लागि आर्मब्यान्ड लगाउने बताएका थिए । इङ्ल्यान्डका कप्तान ह्यारी केन स्वयमले यो अभियानको नेतृत्व गरेका थिए ।

तर सम्बन्धित सबै देशका फुटबल संघ र फिफाका पदाधिकारीबीच यसै विषयमा लामो कुराकानी भएपछि खेलाडीहरुले त्यस्तो कुनै आर्मब्यान्ड नलगाउने सहमती भएको बताइएको छ ।

‘मैदानमा हाम्रा खेलाडीले आर्मब्यान्ड लगाएको खण्डमा फिफाले कार्वाही गर्ने चेतावनी दिएको छ । हामी आफ्ना खेलाडीलाई कुनै पनि समस्यामा पार्न चाहन्नौं,’ सबै ६ देशका फुटबल संघद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘सामान्यतया यस्तो अवस्थामा जरिवाना गराउने चलन थियो । हामी त्यस्तो जरिवाना तिर्न तयार थियौं । तर फिफाले हाम्रा खेलाडीमाथि प्रतिबन्धात्मक कार्वाही गर्ने चेतावनी दिएपछि हामी पछि हटेका हौं ।’

युरोपेली देशका ६ फुटबल संघले फिफाको निर्णयबाट आफूहरु निक्कै निराश भएको बताएका छन् । ‘हाम्रा खेलाडी र प्रशिक्षकहरु पनि अत्यन्तै निराश छन् । हाम्रा खेलाडी र प्रशिक्षकहरु समावेशीताको पक्षधर हुन् । कसैमाथि कुनै पनि बहानामा भेदभाव हुनु हुँदैन भन्नेमा हामी अडिग छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यही कारण हामीले कतारले गर्दै आएको भेदभावको विरुद्ध जनचेतना जगाउन खोजेका थियौं । जसलाई फिफाले प्रतिबन्ध लगायो ।’