कतार विश्वकप २०२२

युरोपेली लिगका तीन शीर्ष गोलकर्ता कतारमा अनुपस्थित

दोहा । युरोपेली क्लब फुटबलको मध्य सिजनमा आइतबारबाट कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । सधै सिजनको अन्त्यपछि हुने गरेको विश्वकप फुटबल यसपाली कतारको चर्को गर्मीका कारण हिउँद याम (नोभेम्बर-डिसेम्बर)मा गरिन लागेको हो ।

मध्य सिजनमा यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा टिमको लय बिग्रनुका साथै सिजनको लयमा अशर गर्ने भएकाले युरोपका ठूला लिगले यसको चर्को विरोध पनि गरे । तर कतारी हठमा फिफाको समेत समर्थन रहँदा मध्य सिजनमै विश्वकप हुने तय भयो । विश्वभरका लिग बीच बाटोमै स्थगित गरेर फुटबल जगत विश्वकपका लागि जुटेको छ ।

विश्व फुटबलमा निक्कै ठूलो प्रभाव पार्ने युरोपका शीर्ष पाँच लिग पनि विश्वकपका लागि स्थगनमा छन् । इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानका सबैजसो शीर्ष खेलाडी विश्वकपका लागि आ-आफ्नो देशको राष्ट्रिय टिमसँग कतार यात्रामा निस्किइसकेका छन् ।

तर, ती उत्कृष्ट खेलाडीको सुचिमा केही यस्ता खेलाडी छैनन्, जसले उच्च प्रदर्शनबाट विश्व फुटबलमा सनसनी मच्चाइरहेका छन् । शीर्ष पाँच लिगमा सबभन्दा बढि गोल गर्ने पाँच खेलाडीमध्ये दुई जनामात्र कतारमा विश्वकपको मैदानमा देखिनेछन् ।

प्रिमियर लिगका शीर्ष गोलकर्ता इर्लिङ हालान्ड यसपाली कतारको मैदानमा देखिने छैनन् । प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर युनाइटेडका लागि १८ खेलमा २३ गोल गरिसकेका २२ वर्षे हालान्डको देश नर्वे विश्वकपमा छनोट हुनै सकेको छैन ।

जर्मन बुन्डेसलिगाको टोली बोरुसिया डर्टमन्डबाट यसै सिजनमात्र इत्तिहाद आइपुगेका हालान्डले विश्वकपको युरोपेली छनोटमा व्यक्तिगत रुपमा उच्च प्रदर्शन गरेका थिए । उनले छनोट चरणमा पनि सात गोल गरे । तर, उनको टोली पहिलो चरण पार गर्न पनि सफल भएन । ६ देश रहेको समूहमा हालान्डको नर्वे तेस्रो भएको थियो ।

इटालियन सिरी ‘ए’का शीर्ष गोलकर्ता भिक्टोर ओसिमिन पनि कतार विश्वकपमा देखिने छैनन् । इटालियन घरेलु लिगमा नेपोलीका लागि १४ खेलमा १० गोल गरिसकेका ओसिमिन पछिल्लो समय युरोपेली क्लब फुटबलमा हालान्डपछि सबभन्दा बढि चर्चा कमाउने खेलाडी हुन् ।

तर, उनको देश नाइजेरिया अफ्रिकी छनोट प्रतियोगितामा असफल भएका कारण २३ वर्षे ओसिमिनले विश्वकपका लागि एसियाको भ्रमण गर्न नपाउने भएका छन् । विश्वकप छनोटको तेस्रो चरणमा क्यामरुनसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलमा गतिलो छाप छोड्ने मौकाबाट उनी बञ्चित भए ।

जर्मन बुन्डेसलिगाको टोली आरबी लाइपजिगबाट व्यावसायिक फुटबल खेलिरहेका क्रिस्टोफर एनकुकु पहिलो पटक विश्वकप खेल्ने योजनामा थिए । फ्रान्सको २६ सदस्यीय टोलीमा उनले स्थान पनि बनाइसकेका थिए । तर अभ्यासको दौरान घाइते भएपछि साविक विजेता टोलीबाट विश्वकप खेल्ने उनको सपना तत्कालका लागि पूरा हुन पाएन ।

अभ्यास दौरान मिड्फिल्डर इडुवार्डो कामाभिंगासँग ठोक्किँदा उनी विश्वकप खेल्नै नसक्ने गरि घाइते भए । लाइपजिगका लागि १५ खेलमा १२ गोल गरिसकेका स्ट्राइकर एनकुकु फ्रान्सको उपाधि रक्षा अभियानका मुख्य हतियार बन्न सक्थे । उनीबाट अग्रपंक्तिमा किलियन एमबाप्पे र करिम बेन्जेमालाई भरिलो साथको अपेक्षा थियो । फ्रान्सेली प्रशिक्षक डिडियर डेशच्याम्पसले एनकुकुको ठाउँमा रान्डल कोलो म्वानीलाई समावेश गरेका छन् ।

लिग वान र स्पेनिस ला लिगाका उच्च गोलकर्ता भने कतारमा पनि आ-आफ्नो राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रिनेछन् ।

फ्रान्सेली लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पे फ्रान्सको उपाधि रक्षा अभियानका मुख्य आसा हुन् । जारी सिजनमा २३ वर्षे एमबाप्पेले पिएसजीका लागि लिग वान र च्याम्पियन्स लिगमा गरि २० खेलमा १९ गोल गरिसकेका छन् ।

चार वर्षअघि रुसमा फ्रान्सले विश्वकप उपाधि जित्दाका मुख्य नायक एमबाप्पेलाई अग्रपंक्तिमा बालन डी’अर विजेता करिम बेन्जेमा र एन्टोनियो ग्रिजम्यानको साथ हुनेछ । रुसमा एम्बाप्पे विश्वकपमा गोल गर्ने पेलेपछिका सबैभन्दा कान्छा खेलाडी बनेका थिए । फ्रान्सका लागि एम्बाप्पेले ५९ अन्तर्राष्ट्रिय खेलमा २८ गोल गरेका छन् ।

यसैगरी बार्सिलोनाका भेट्रान स्ट्राइकर रोबर्ट लेवान्डोवस्की पनि गोल गर्ने उच्च लयमा छन् । यही उच्च लयका साथ उनी पोल्यान्डको नेतृत्व गर्दै कतार विश्वकपका लागि निस्किएका छन् ।

यसै सिजन जर्मन महारथी बायर्न म्युनिखबाट बार्सिलोना पुगेका स्ट्राइकर लेवान्डोस्की स्पेनिस फुटबलको पहिलो सिजनमै उच्च गोलकर्ताको सुचिमा सबभन्दा अगाडि छन् । ला लिगाको पहिलो सिजन उनले १४ खेलमा १३ गोल गरिसकेका छन् । पोल्यान्डका ३४ वर्षे कप्तानले च्याम्पियन्स लिगमा पनि थप पाँच गोल गरेका छन् । कतारमा उनको एउटै लक्ष्य हुनेछ । त्यो हो, विश्वकप यात्रालाई यादगार बनाउने ।