प्लेयर्स टु वाच

इक्वेडरलाई भ्यालेन्सियाको भर

इनर भ्यालेन्सिया (इक्वेडर)
इक्वेडरले विश्वकपमा सुखद प्रदर्शनको दावी गरिरहँदा इनर भ्यालेन्सिया यसपाली पनि टोलीका मुख्य खेलाडी हुनेछन् ।
७४ अन्तर्राष्ट्रिय खेल खेल्दै सर्वाधिक ३५ गोल गरेका उनीबाट इक्वेडरले कतारमा उच्च स्कोरिङ फर्म अपेक्षा गर्नेछ ।

विश्वकपको समूह ‘ए’बाट आयोजक कतार, अफ्रिकन कप अफ नेशन्सको विजेता सेनेगल र युरोपेली महारथी नेदरल्यान्ड्सको चुनौती पन्छाएर नकआउट चरण प्रवेश गर्ने हो भने इक्वेडरका लागि भ्यालेन्सियाले आठ वर्षअघि ब्राजिलमा गरेको प्रदर्शन दोहोर्याउनु पर्नेछ ।

ब्राजिलमा आठ वर्षअघि सम्पन्न विश्वकपमा चार गोल गर्दै उनले विश्व फुटबलका महारथी क्लबहरुको ध्यान आफूतिर तानेका थिए ।

कतारविरुद्ध उनलाई युवा मिड्फिल्डर मोसेस काइसेडो, विंगर गोन्जालो प्लाटा तथा रक्षकहरु पिएरो हिनक्यापीलगायतको साथ मिल्नेछ ।