फ्रान्स

चोटका कारण बेन्जेमा बाहिरिए, फ्रान्सलाई धक्का

दोहा । साविकको विजेता फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले चोटका कारण कतार विश्वकप २०२२ गुमाउने भएका छन् । 

सन् २०१८ मा फ्रान्सले रुस विश्वप जित्दा टोलीमा स्थान बनाउन नसकेका बेन्जेमाले तिघ्राको चोटका कारण कतार विश्वकप पनि गुमाउने भएका हुन् ।

बलोन डी अर विजेता बेन्जेमालाई फ्रान्सको विश्वकप उपाधि रक्षाको लक्ष्यमा मुख्य खेलाडीको रुपमा हेरिएको थियो । चोटका कारण फ्रान्सले यसअघि नै मिडफिल्डर पाउल पोग्बालाई गुमाएको थियो । सन् २०१८ को रुस विश्वकप जित्दा पोग्बा टोलीका प्रमुख खेलाडी थिए ।

बेन्जेमाले २०२१–२२ सिजनमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडबाट सबै खाले प्रतियोगिता गरि ४६ खेलमा ४४ गोल गरेका थिए । उनकै प्रभावशाली प्रदर्शनमा रियालले ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बेन्जेमा शनिबारमात्र फ्रान्सको प्रशिक्षणमा फर्किएका थिए ।

‘करिम बेन्जेमा तिघ्राको चोटका कारण विश्वकप टोलीबाट बाहिरिएका छन्’,फेन्च फुटबल फेडरेशनले जारी गरेको विज्ञप्क्तिमा भनिएको छ ,'प्रमुख खेलाडी बाहिरिँदा हामी निकै दुखी छौ । हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।'

फ्रान्सले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार अस्ट्रेलियाको सामना गर्नेछ । फ्रान्सले नोभेम्बर २६ मा डेनमार्क र नोभेम्बर ३० मा ट्युनेसियाको सामना गर्नेछ ।