फुटबलको इतिहास

ब्राजिलले उपाधि रक्षा गरेको विश्वकप

१९६२, चिली (सातौं विश्वकप)

मे ३० देखि जुन १७ सम्म
सहभागी टोली– १६
खेल संख्या– ३२
गोल संख्या– ८९ (प्रतिखेल २.७८ गोल औसत)
दर्शक– ८,९९,०७४ (२८,०९६ प्रतिखेल)
विजेता– ब्राजिल
उपविजेता– चेकोस्लोभाकिया
तेस्रो स्थान– चिली
चौथो स्थान– युगोस्लाभिया
गोल्डेन जुत्ता– गारिन्चा (ब्राजिल), भाभा (ब्राजिल), भालेन्टिन इभानोभ (सोभियत संघ), ड्राजेन जार्कोभिक (युगोस्लाभिया), लिओनेल सान्चेज (चिली), फ्लोरिअन अल्बेर्ट (हंगेरी)

फुटबलको कमजोर स्तर र डरलाग्दो ट्याकलका कारण चिलीमा आयोजना भएको सातौं विश्वकप फुटबल युद्धमा परिणत भयो ।

वास्तवमा सन् १९६२ मा चिलीलाई विश्वकप फुटबल आयोजना गर्न दिने विश्व फुटबल महासंघ (फिफा) को निर्णय नै सवैलाई आश्चर्यमा पार्ने खालको थियो । किनभने चिलीमा ३० मे १९६२ मा भएको सातौं विश्वकप फुटबल प्रतियोगिताभन्दा दुई वर्ष अगाडि यो देशमा ठूलो भूइचालो गएको थियो ।

भूइचालोबाट आर्थिक रुपमा राम्रोसँग उठ्न नपाएको चिली फितलो तयारीका बीच विश्वकप गराउने अभियानमा जुटेको थियो । यसअघि फिफाले अर्जेन्टिनाको प्रस्ताव अस्विकार गर्दे चिलीलाई विश्वकप आयोजनाको जिम्मा दियो ।

आर्थिक कमजोरीकाबीच पनि चिलीले सातौं विश्वकप फुटबललाई जीवन्त तुल्याउन सान्टियागो, भिना डेल मार, रानकागुवा र आरिकामा गरि चार वटा नयाँ रंगशाला निमार्ण गर्यो ।

यति हुँदाहुँदै पनि यो विश्वकप सवैभन्दा बढि विवादास्पद बन्न पुग्यो, जब सान्टियागोको नयाँ राष्ट्रिय रंगशाला ‘स्टेडियु नासिनोल’ मा आयोजक चिली र इटालीबीच भएको खेल युद्ध मैदानमा परिणत भयो ।

यो घटनाका कारण अहिले पनि सातौं विश्वकप फुटबललाई ‘मैदान युद्ध’ को रुपमा स्मरण गर्ने गरिन्छ । त्यतिबेला जोसिलो र आक्रामक फुटबल खेल्ने इटाली र चिलीबीचको खेल सुरु हुनुपूर्व नै वातावरण तनावपूर्ण बनिसकेको थियो ।

खेल सुरु भएको केही मिनेटमै चिलीका लियोनेल सान्चेज र इटालीका मारियो डेभिडबीच मैदानमा हानाहान भयो । बक्सर पिताका छोरा सान्चेजले खेलकै दौरान इटालीका उम्बेर्टो मास्चियोको नाक पन्च हानेर फुटाइदिए पछि उत्पन्न विवादमा मारियोले उडेर सान्चेजलाई लात्ताले हिर्काएका थिए । यही विवादमा रेफ्रीले मारियो र अर्का इटालियन खेलाडी जजिन्हो फेरिनीलाई रातो कार्ड देखाएका थिए ।

रातो कार्ड पाए पनि फेरिनी मैदानबाट बाहिर जान मानेनन् ।  आठ मिनेट लामो प्रयासपछि सुरक्षागार्डले उनलाई बाहिर निकाल्नु परेको थियो । यो पूरै घटनामा चिलीका सान्चेज पनि मुछिएका थिए । तर, रेफ्रिले उनलाई कुनै कार्वाही गरेन् ।

यी थुप्रै विवादका बीच ब्राजिलले चार वर्षअघि पहिलो पल्ट जितेको छैटौं विश्वकप फुटबलको उपाधि रक्षा गर्न सफल भयो । विश्वकपको इतिहासमा उपाधि रक्षा गर्ने ब्राजिल दोस्रो टोली बन्यो । त्यसअघि १९३४ र १९३८ को विश्वकपमा इटालीले लगातार दुई पटक उपाधि जितेको थियो । त्यसयता अहिलेसम्म पनि यस्तो उपलब्धिमा कसैले बराबरी गर्न सकेको छैन ।

सातौं विश्वकपको ब्राजिलियन टोलीमा चार वर्षअघि उपाधि जित्दाका ९ खेलाडी समावेश थिए । तर प्रशिक्षक अल्बेटको स्थानमा एमोरे मोरिएरालाई सातौं विश्वकपका लागि ब्राजिलियन टोलीको जिम्मेवारी सुम्पिएको थियो । मोरिएरा सन् १९५४ को विश्वकपमा स्वीजरल्यान्डलाई प्रशिक्षण दिएका जेजेका भाइ थिए । उनले ब्राजिललाई दोस्रो पल्ट उपाधि दिलाउन ४-३-३ को फर्मेसनमा खेलाडी उतारेका थिए ।

छैटौं विश्वकपका नायक पेले चोटका कारण सातौं विश्वकपको २ खेलपछि नै दुर्भाग्यवस बाहिरिन पुगे । २१ वर्षीय पेलेले टोलीबाट बाहिरिनुअघि मेक्सिकोविरुद्ध २-० गोलले विजयी पहिलो लिग खेलमा एक गोल गरेका थिए । चेकोस्लोभाकियाविरुद्ध दोस्रो खेल खेलिरहदा उनको देब्रे जाङको नसा खुम्चिन पुगेको थियो ।

पेलेको अनुपस्थितिमा गारिन्चाले ब्राजिललाई ट्रफी दिलाउन महत्वपूर्ण योगदान गरे । ब्राजिलले लिग चरणमा गोलरहित बराबरीमा रोकिएको चेकोस्लोभाकियालाई फाइनलमा ३–१ गोलले पराजित गर्यो ।

बाल्यकालमै पोलियोको सिकार भएका गारिन्चाको उत्कृष्ट प्रर्दशनका कारण फ्रेन्च भाषाको एउटा पत्रिका लाइक्युपले उनलाई ‘सानो चरा’ को उपमा दिएको थियो । गारिन्चा बल खुट्टामा परेपछि माछाजस्तै हाउभाउमा बल दौडाउन खप्पिस थिए । उनको दुवै खुट्टा शक्तिशाली थियो ।

थुप्रै विवादका बीच अगाडि बढेको सातौं विश्वकपमा आयोजक चिलीले सेमिफाइनलसम्मको यात्रा तय गर्यो । आयोजक राष्ट्रको यात्रालाई सेमिफाइनलमा ४-२ गोलको नतिजा निकाल्दै ब्राजिलले नै पूर्णविराम लगायो ।

यद्धपी चिली तेस्रो स्थान हासिल गर्न भने सफल भयो । चिलीले तेस्रो स्थानका लागि भएको खेलमा युगोस्लाभियालाई १-० ले हरायो ।

ड्राजेन जर्कोभिकको प्रेरणा पाएको युगोस्लाभिया पनि सेमिफाइनलभन्दा माथी उक्लिन सकेन । युगोस्लाभियालाई सेमिफाइनलमा ३-१ गोलले पराजित गर्दै चेकोस्लोभाकिया फाइनल पुगेको थियो ।

सातौं विश्वकप अगाडिसम्म ड्राजेनको खासै चर्चा थिएन् । तर, उनले यो विश्वकपमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन कोलम्बियाविरुद्ध ५-० ले विजयी खेलमा ह्याट्रिक गरेका थिए ।

युरोपबाट १०, उत्तर र मध्य अमेरिकाबाट एक तथा दक्षिण अमेरिकाबाट पाँच गरि कूल १६ देश सहभागी भएको सातौं विश्वकपमा पहिलो पल्ट पाँच देशका ६ खेलाडी एकै पल्ट ‘गोल्डेन बुट’ बाट पुरस्कृत भए । हंगेरीका फ्लोरिअन अल्बेर्ट, सोभियत संघका भालेन्टिन इभानोभ, युगोस्लाभियाका ड्राजेन जार्कोभिक, चिलीका लिओनेल सान्चेज र ब्राजिलका दुई खेलाडी भाभा र गारेन्चा ‘गोल्डेन बुट’ बाट पुरस्कृत भएका थिए । यी सवै खेलाडीले समान चार गोल गरेका थिए ।