नेपाल क्रिकेट संघ

क्यान कार्यवाहक सचिव मल्लको राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले  राजीनामा दिएका छन् ।

नेपाल  टी २०  लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

क्यानले केही बेरमा बैठक बसेर प्रशान्तको राजीनामा स्विकृत गर्न तयारी गरेको छ । गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको सचिवको जिम्मेवारी पाएका थिए ।

त्यस्तै बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानकै सात केन्द्रीय सदस्यले नेपाल टी २० लिगमा भएका विविध गल्तीको जिम्मेवारी लिदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएका थिए ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, अमितवीर पाण्डे, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका थिए ।

उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै कार्य सम्पादन समितिको राजीनामा माग गरेका थिए । नेपाल टी २०  लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता  क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनीहरुको आरोप छ  ।

नेपाल टी २० लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।

स्पट फिक्सिङको आरोपमा सिआइबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।