नेपाल क्रिकेट संघ

सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको अभियोग झेलिरहेका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुुकुवा गरेको छ ।

मंगलबार पोखरामा बसेको कार्यसमितीको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको क्यान स्रोतले जनाकारी दिएको हो ।

नाबालिग  बालात्कारको आरोप लागेपछि क्यानले गएको भदौ २३ मा सन्दीपलाई निलम्बन गरेको थियो । 

उच्च अदालत पाटनको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधिन अवस्थामा छ । 

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुई पटक नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा  निवेदन दिएको छ ।