नेपाल क्रिकेट संघ

असन्तुष्ट सदस्य भन्छन्ः क्यानलाई निलम्बन हुनबाट जोगाउन क्यान कार्यसम्पादन समिती र गभर्निङ सदस्यले राजिनामा दिनु पर्छ

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वसँग असन्तुष्ट  सात केन्द्रिय सदस्यहरुले क्यानलाई निलम्बन हुनबाट जोगाउन वर्तमान कार्यसम्पादन समितीले राजिनामा दिनुपर्ने कुरालाई जोड दिएका छन् ।

उनीहरुले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै कार्यसम्पादन समिती र गभर्निङ सस्यहरुले राजिनमा दिनुपर्ने माग राखेका हुन् ।

 पत्रकार सम्मलेन गर्नुअघि असन्तुष्ट सदस्यहरुले यही माग राख्दै क्यान अध्यक्ष चतुरबाहुर चन्दलाई पत्र बुझाएर क्यान बोर्ड बैठक बहिस्कार गरेका थिए ।

उनीहरुले नेपाल टी २० लिगमा क्यान कार्यसम्पादन समितीले गम्भीर गल्ती गरेका भन्दै राजिनामा माग गरेका  हुन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल टी २० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभन थ्री स्पोर्टससँग सम्झौता गरेर गल्ती गरेको स्किारेका थिए ।

सात केन्द्रिय सदस्यहरुले क्यान कार्यसम्पादन समितीमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा केन्द्रिय सदस्य दुर्गाराज पाठक र पदक खड्काले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गरेका हुन् ।

नेपाल टी २० लिग पुस ९ गतेबाट २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा  भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।

स्पट फिक्सिङको आरोपमा सिआइबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद् ( राखेप)  ले गठनन गरेको छानबिन समितीले पनि  क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी गरिएकाले तत्काल खारेज गर्न सुझाब दिएको थियो ।  

क्यान र सेभेन थ्री स्पोर्टस बीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो ।