संविधान दिवसको खुसीमा नेपाली समर्थकलाई क्रिकेट टोली र राजदुत डा. ढकालको उपहार

काठमाडौं, (खेलाडी)- विश्वकप क्रिकेट लिग दुईका लागि त्रीदेशीय शृंखला खेल्न नेपाली टोली ओमान जाँदासम्म घरेलु टोलीमाथि जित फगत लक्ष्यमा सीमित थियो । 

अमेरिकाविरुद्धका दुवै खेल जित्ने र ओमानसँग दुवै खेलमा कडा प्रतिस्पर्धा दिने नेपालको उद्देश्य व्यवहारिक थियो । यही शृंखलाका लागि नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग दुई अभ्यास खेल पनि खेलेको थियो । जहाँ दुवै खेलमा नेपालले अपेक्षकृत नतिजा निकाल्ने क्रममा विजय हासिल गर्यो । 

मुख्य प्रतियोगितामा पनि नेपाली क्रिकेटका पण्डितहरुले खुलेर भन्न नसकेको, तर पूरा विश्वासका साथ खासखुस गरेको कुरा थियो, ‘नेपालले विश्वकप लिग दुईअन्तर्गत ओमानमा खेल्ने चारमध्ये दुई खेलमा जित हासिल गर्नेछ । दुई खेलमा जितका लागि प्रयास गर्नेछ ।’

अर्थात अमेरिकामाथिको दबदबा कायम राख्दै दुवै खेल जित्ने र पछिल्लो समय नेपालमाथि जित हासिल गर्दै आएको ओमानसँग जितको प्रयास गर्ने । शृंखलाको पहिलो चरण कीर्तिपुरमा डेढ वर्षअघि हुँदा नेपालले अमेरिकामाथि दुवै खेल जितेको थियो भने ओमानसँग दुवै खेलमा पराजय भोगेको थियो । 

भयो पनि त्यस्तै । नेपालले ओमानमा पछिल्लो एक सातामा चार खेल खेल्दा दुई जित र दुई हारको नतिजा निकाल्यो । तर अमेरिकासँग दोस्रो खेलमा अनपेक्षित पराजय भोगेको नेपालले बलियो भनिएको ओमानलाई आइतबारको अन्तिम खेलमा सनसनीपूर्ण प्रदर्शनका साथ रवाफिलो जित हासिल गर्यो । 

संयोग कस्तो भने नेपालले ओमानलाई हराएको दिन नेपाली जनताले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त संविधानसभाबाट संविधान जारी भएको दिन थियो । 

खेलकुद सधै समाज र देशलाई खुसी दिने माध्यमका रुपमा रहँदै आएको छ । राजनीतिले निराशा दिइरहेका बेला खेलकुदले समाजलाई खुसी दिने गरेको छ । त्यही क्रमको निरन्तरता आइतबार ओमानको मस्कटस्थित अल अमेरत रंगशालामा पनि भयो । 

हो संविधान दिवसको दिन नेपाली राष्ट्रिय क्रिकेट टोलीले बलियो ओमानमाथि जित हासिल गर्दै नेपाली जनतालाई उपहार दिएको छ । 

नेपाली टोलीले संविधान दिवसको अवसरमा खेलको सुरुआत पनि विशेष तरिकाले गरेको थियो । क्रिकेट मैदानमै ओमानका लागि नेपाली राजदुत डा. सर्मिला पराजुली ढकालले संविधान दिवस मनाउने विशेष व्यवस्था गरेकी थिइन । 

राजदुत ढकालसँगै ओमान क्रिकेट संघका प्रमूख पंकज खिमजी र नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले संयुक्त रुपमा नेपाल र ओमानको झण्डाअंकित केक काटेका थिए । कप्तान ज्ञानेन्द्र मल्लका पिताको निधन भएको एक वर्ष पूरा नभएकाले उनी केक काट्ने कार्यक्रममा सरिक भएनन् । टिमलाई प्रतिनिधित्व गर्दै उपकप्तान ऐरी केक काट्ने समारोहमा सहभागि हुँदा कप्तान मल्ल पनि त्यहाँ उपस्थित भने थिए । 

राजदुत ढकालको व्यवस्थापनमा मैदानमा केक काटेर संविधान दिवस मनाउँदै नेपाली टोलीलाई जितको शुभकामना दिइएको थियो । 

‘संविधान दिवसको दिन क्रिकेट टिमले ओमानबाट नेपाली जनतालाई जितको उपहार दिएको छ । हामीले टिमको मनोबल उकास्नका लागि भनेर संविधान दिवस मैदानमा मनाउने कार्यक्रम गरेका हौं,’ राजदुत ढकालले खेलाडीसँगको कुराकानीमा भनिन् ।