आइसिसी महिला यु-१९ टी २० विश्वकप

रुवान्डाको ऐतिहासिक जित

काठमाडौं । रुवान्डले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा पहिलो जित निकालेको छ ।

रुवान्डाले नर्थ वेस्ट युनिभरसिटीको क्रिकेट मैदानमा समूह ‘बी’अन्तर्गत मंगलबार सम्पन्न खेलमा जिम्बाब्वेलाई ३९ रनले पराजित गरेको हो । आइसिसी विश्वकप इतिहासमै रुवान्डाको यो पहिलो जित हो ।

यस जितसँगै रुवान्डाले दुई खेलमा दुई अंक जोड्दा जिम्बाब्वेले लगातार दोस्रो पराजय ब्यहोरेको छ । पहिलो खेलमा रुवान्डा पाकिस्तानसँग आड विकेट तथा जिम्बाब्वे इङ्ल्यान्डसँग एक सय ७४ रनले पराजित भएका थिए ।

रुवान्डाले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो । जिम्बाब्वकेका लागि नतासा एमटोम्बा र केली  एनदिरायाले समान २० तथा एडेल जिमुनुले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रुवान्डाका लागि हेनरिएट इसिम्वेले सर्वाधिक चार विकेट लिइन् । उनले अन्तिम ओभरका लगातार चार बलमा चार विकेट लिएकी थिइन् । यसैगरी जुरुफथ इसिम्वेल दुई तथा रोजिन इरेरा,कप्तान गिसेल इसिम्वे र जियोभानिस उवासेले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रुवान्डाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १९ रनको योगफल तयार पारेको थियो । रुवान्डाका गिसेल इसिम्वेले ३४,सिन्थिया टुइजेरेले ३० र मार्भेल उवासेले १८ रन जोडे ।

जिम्बाब्वेका लागि  चिपो मोयोले तीन,कुडजाई चिगोराले दुई तवनन्याशा मारुमनीले सामान एक विकेट लिए ।

मंगलबार नै सम्पन्न खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई नै विकेटले हराउँदै लगतार दोस्रो जित निकालेको थियो ।