टी २० श्रृंखला

जिम्बाब्वेलाई टी २० श्रृंखला

काठमाडौं । आयरल्यान्डविरुद्धको टी २० अन्तर्राष्ट्रिय श्रृंखला घरेलु टोली जिम्बाब्वेले जितेको छ । जिम्बाब्वेले हरारे स्पोर्टस क्लबमा आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा चार विकेटको जित निकालेको हो ।

यस जितसँगै जिम्बाब्वेले तीन खेलमा श्रृंखला २-१ ले आफ्नो पक्षमा पारेको हो । यसअघि जिम्बाब्वे  पाँच तथा आयरल्यान्ड ६ विकेटले विजयी भएका थिए ।

आयरल्यान्डले प्रस्तुत गरेको एक सय ४२ रनको लक्ष्य जिम्बाब्वेले १९ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । जिम्बाब्वेका लागि क्रेइग इर्भिनले ४३ बलमा ६ चौका मद्दतमा सर्वाधिक ५४ रन जोडे ।

यसैगरी रायन बर्लले अविजित ३० र इनोसेन्ट कियाले २३ रन बनाए । आयरल्यान्डका लागि ब्यारी म्याकार्थी र बेन ह्वाइटले समान दुई तथा  ह्यरी टेक्टर र मार्क आदिरले समान एक विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४१ रनको योगफल तयार पारेको थियो ।  आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३८ बलमा तीन चौका मद्दतमा सर्वाधिक ४७ रनको योगदान दिए ।

यसैगरी कर्टिस क्याफरले २७, जर्ज डकरेलले २३ र मार्क आदिरले १४ रन जोडे । जिम्बाब्वेका लागि लुक जोन्गे, रायन बर्ल, विस्ली मेधेभेरे र टेन्डाइ चताराले समान दुई तथा बालिङेटन मसाकाड्जाले एक विकेट लिए ।