नेपाल अमेरिकासँग पराजित

काठमाडौ, (खेलाडी)-  लगातार दोस्रो खेलमा ब्याटिङ र बलिङमा निरिह देखिएको नेपाल विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलामा शुक्रबार अमेरिकासँग ६ विकेटले स्तब्ध भएको छ । 

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकालाई नतिजा सुम्पिएको हो । नेपालले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा मात्र ४ विकेटको क्षतीमा पूरा ग¥यो ।

अमेरिकाका लागि ओपनर स्टेफिन टेलरले सर्वाधिक ९२ रनको योगदान गरे । करण केसीको बलमा सोमपाल कामीबाट क्याच हुनु अघि टेलरले ६३ बलमा १२ चोका र ३ छक्का प्रहार गरे । 

पाँचौ ओभरको पहिलो र पाँचौ बलमा स्पिनर सन्दिप लामिछानेले क्रमश सुशान्त मोदानी र करिमा गारेलाई पवेलियनको बाटो देखाएका थिए । २२–२ को स्थितीमा टेलर र मोनाक पटेलले तेस्रो विकेटका लागि ९७ रनको साझेदारीका साथ अमेरिकाको इनिङ उकासेका थिए ।

पटेलले पाँचौ विकेटका लागि जसकरण मलहोत्रासँग अविजित ५६ रनको साझेदारी गरेका थिए । पटेलले अविजित ३८ रन जोड्दा मलहोत्राले अविजित ३६ रन जोडे ।

नेपालका सन्दिप र करणले समान दुई विकेट लिए ।

जारी शृखलमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि बुधबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।समग्रमा भने नेपालको विश्व क्रिकेट लिग अन्तर्ग त्रिदेशीय शृंखलामा यो समग्रमा चौथो हार हो ।

सन् २०१९ मा घरेलु मैदानमा भएको शृंखलामा अमेरिकालाई दुवै खेल जितेको नेपालले ओमानसँग दुई वटै खेल गुमाएको थियो ।

यसअघि  कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले  अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउदै १ सय ७४ रन मात्र जोड्न सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको योगदान गर्दा ओपनर कुशल भुर्तेलले ३६ र गुल्सन झाले २८ रनको योगदान गरे ।

५ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालको इनिङ दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारीका साथ उकासेका थिए । कुशलले करिमा गोरेबाट बोल्ड हुनुअघि ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
कुशल पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका रोहित कुमार पौडेलले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । रोहितले २ रन मात्र जोडे ।

त्यसपछि ब्याटिङका लागि आएका विनोद भण्डारी पनि मात्र १० रनमा पवेलियन फर्किएपछि नेपाल ८९–४ को अवस्थामा आएको थियो । पाँचौ विकेटका लागि ज्ञानेन्द्रले गुल्सनसँग ५१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

अमेरिकाविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका गुल्सनले ५३ बलमा २ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

ज्ञानेन्द्रले १ सय ५ बलमा ३ चौका प्रहार गरे ।

अमेरिकाका कप्तान सौरब नेत्राभाल्करले चार काइले फिलिप्सले तीन र करिम गारेले दुई विकेट लिए ।