नेपाललाई दुई सय ३१ रनको लक्ष्य


मस्कट (खेलाडी)- मोनाङक पटेलको सतक प्रेरित अमेरिकाले विश्वकप क्रिकेट लिग डिभिजन दुई अन्तर्गत त्रिदेशीय प्रतियोगिताअन्तर्गत ओमानको मस्कटमा जारी पहिलो खेलमा नेपाललाई दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मस्क्टस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३० रन बनायो । 

अमेरिकाको ब्याटिङमा मोनाङ्कले सबैभन्दा धेरै एक सय रन बनाए । एक सय १४ बलमा नौ चौका र एक छक्का प्रहार गरेका मोनाङ्कको करियरको यो पहिलो सतक हो । 

यसैगरी निसर्ग पटेलले ३९ बलमा २१ रन बनाए । त्यस्तै सुशान्त मोदानी र करिमा गोरेले समान १६ रन बनाउँदा स्टेभन टेलरले १४ तथा नोस्थुस केन्जिग र संजय कृष्णमुुर्तीले १३ रन बनाए । जस्करन मल्होत्राले ११ रन बनाए । 

नेपालको बलिङमा सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले समान दुई विकेट लिए । १० ओभर बलिङ गरेका सन्दिपले दुई मेडन राख्दै ३५ रन खर्चिए । त्यस्तै कुशल मल्लले एक विकेट हात पारे ।