पहिलो एक दिवसीय खेल

नेपालविरुद्ध मुस्ताफाको अर्धशतक

काठमाडौं । युएईका रोहन मुस्ताफाले नेपालविरुद्धको पहिलो एक दिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् । 

७७–२ को स्थितीमा ब्याटिङका लागि आएका मुस्ताफा ७३ बलमा ७ चौका मद्दतमा  ५३ रन बनाए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई ३८ ओभरमा १८२–४ को स्थितीमा खेलिरहेको छ । ओपनर अरविन्द ४० रन बनाए ।

अरविन्दले पहिलो विकेटका लागि अर्को ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे ।

नेपाल डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमणमा जाँदैछ ।

तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ ।

रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो । उनी शुक्रबार मात्र कप्तानमा नियुक्त भएका थिए । 

युएईविरुद्धको खेलसँगै अर्जुन साउद र हरीशंकर शहले नेपालबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।