क्रिकेट

क्रिकेटको दुवै स्वर्ण पुलिसलाई

काठमाडौं । नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटका दुवै स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ ।

मंगलबार पोखरा क्रिकेट रंगशालामा भएको फाइनलमा पुलिसले अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो । हारसँगै एपिएफले रजत पदकमा चित्त बुझायो । बागमती प्रदेशले कांस्य पदक प्राप्त गर्याे ।  

जितका लागि ९० रनको लक्ष्य पछ्याएको एपिएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८४ रनमा सीमित भयो । एपिएफका लागि मध्यक्रमकी ब्याटर रोमा थापाले २६ रन बनाइन् । उनले १९ बलमा दुई चौका प्रहार गरिन् । यस्तै, राजमती ऐरीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । पुलिसको लागि इश्वरी विष्टले २ विकेट लिइन् । यसबाहेक कप्तान रुविना क्षेत्री, संगिता राई र हिरण्मयी रोयले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८९ रन बनायो । पुलिसको लागि विकेटकिपर ब्याटर ओपनर काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन् । काजलले ५५ बलमा एक चौका प्रहार गरिन । सम्झना खड्काले २५ बलमा एक चौका सहित २१ रन बनाउँदा अप्सरी बेगमले अविजित १३ र कविता कुँवरले ११ रनको योगदान गरे । एपिएफका लागि  नेरी थापा, इन्दु बर्मा र सिता राना मगरले समान एक/एक विकेट लिए ।

२०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा पुलिसको महिला टोलीले पहिलो पटक सहभागीता जनाएको हो । पहिलो पटक महिला टोली बनाएर प्रतियोगितामा होमिएको पुलिसले ‘डेब्यु’ प्रतियोगितामै च्याम्पियन भएको छ ।

यसअघि काठमाडौमा भएको पुरुषतर्फको क्रिकेटमा पुलिसले नै स्वर्णपदक जितेको थियो ।