सन्दीप चम्किँदा नेपालको शानदार जित

काठमाडौं, (खेलाडी)- स्पिनर सन्दिप लामिछाने चम्किएसँगै विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको तयारीका लागि शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले १५१ रनको शानदार जित निकालेको छ । तयारी स्वरुप भएको दोस्रो एकदिवसीय खेलमा नेपालले निकालेको जितसँगै दुई खेलको शृङ्खला नै २-० ले आफ्नो पक्षमा पारेको छ ।

अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ४९.३ ओभरमा सबै विकेट गुमाउनु अघि २ सय ३३ रन बनाएको थियो । २ सय ३४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.१ ओभरमा सबै विकेट गुमाउनु अघि ८२ रन मात्रै जोड्न सक्यो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए । ३५ बलको सामना गरेका उराले आफ्नो पारीमा दुई चौका प्रहार गरेका थिए । चार्ल्स एमिनीले २५ बलमा एक चौकासहित १६ रन बनाउँदा सेसे बाउले ११ रन, गौडी टोकाले १० रन र नोर्मन भनुअले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । 

नेपालको बलिङमा फेरि एकपटक स्पिनर सन्दिप लामिछाने चम्किए । ५.१ ओभर बलिङ गरेका सन्दिपले ११ रन खर्चेर ६ विकेट लिए । त्यस्तै सोमपाल कामी सुशन भारी र विक्रम सोबले एक/एक विकेट लिए । 
यसअघि पहिले ब्याटिङमा ओर्लिएको नेपालका लागी रोहित कुमार पौडेलले सबैभन्दा धेरै ८६ रन बनाए ।

१ सय २३ बलको खेलेका रोहितले आफ्नो पारीमा दुई चौका र तीन छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा तीन चौका र दुई छक्कासहित ४५ रन बनाइ आउट भए । रोहितले कप्तान ज्ञानेन्द्र मल्लसङ्ग तेस्रो विकेटको कीर्तिमानी ८४ रनको साझेदारी गरेका थिए ।  

त्यस्तै आठौं नम्बरमा ब्याटिङका लागी मैदान आएका करन केसीले २६ बलमा दुई चौका र चार छक्कासहित ४२ रन बनाए । बिनोद भन्डारीले ३४ बलमा दुई चौकासहित १७ बनाए । सोमपाल कामीले १८ बलमा एक चौकासहित ११ रन बनाए । 

नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन छुन सकेनन्। पिएनजीको बलिङमा चाड सोपेरले तीन, काबुए मोरेअ र  नोरम भनुअले २ र चार्ल्स एमिनीले एक विकेट हात पारे । 

भदौ २८ देखि असोज चार गतेसम्म चल्ने त्रिदेशीय शृंखलामा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।