टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं, (खेलाडी)- पपुवा न्युगिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखलाअन्तर्गतको दोस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । 

विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले ओमानमा पिएनजीसँग दुई खेलको शृंखला खेलिरहेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले दुई विकेटको जित हासिल गरेको थियो ।

नेपालले टोलीले पहिलो पटक दिवारात्री एकदिवसीय खेल खेल्न लागेको हो । 

दोस्रो खेलमा नेपाली टोलीका तीन खेलाडी परिवर्तन भएका छन् । विनोद भण्डारी, शुसन भारी र करण केसी पहिलो रोजाईमा परेका छन् । टोलीका शरद भेषावकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिइएको छ ।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, विक्रम शोब, रोहित पौडेल, कुशल मल्ल, विनोद भण्डारी, शुशन भारी र करण केसी छन् । त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले भने आजको खेल पनि गुमाउने भएका छन् ।