हकले क्रिकेट अस्ट्रेलियाको स्थायी सिइओ नियुक्त

सिड्नी, जेठ १७ (खेलाडी)– अन्तरिम रुपमा प्रमूख कार्यकारी अधिकृत (सिइओ) जिम्मेवारी सम्हालिरहेका निक हकलेलाई क्रिकेट अस्ट्रेलियाले सोमबार स्थायी नियुक्ति दिएको छ । गत वर्ष जुनमा केभिन रोबर्टसले राजीनामा गरेपछि क्रिकेट अस्ट्रेलियाले हकलेलाई अन्तरिम सिइओ नियुक्त गरेको थियो ।  

हकलेले २०१२ मा सम्पन्न लन्डन ओलम्पिक तथा पाराओलम्पिकमा व्यापारिक वार्तालाप प्रमूखका रुपमा काम गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)का विभिन्न प्रतियोगिता आयोजनाको अनुभव भएका उनी आइसिसी ट्वान्टी–२० विश्वकप २०२० को आयोजक कमिटीमा पनि थिए । उक्त प्रतियोगितामा उनले आर्थिक मामिला प्रमूखका रुपमा काम गरेका थिए । यसैगरी २०१५ को आइसिसी विश्वकपमा उनी महाप्रवन्धक, आर्थिक तथा बजार व्यवस्थापन प्रमूखका रुपमा कार्यरत थिए ।  

‘अस्ट्रेलियाको राष्ट्रिय खेल भएकाले क्रिकेट हाम्रो देशको प्रिय खेल हो र यो हाम्रो सांस्कृतिक पहिचान पनि हो । मलाई अस्ट्रेलियाली जनताको जीवनमा क्रिकेटको महत्व कति छ भन्ने राम्रो जानकारी छ । त्यसकारण मलाई आफ्नो यो जिम्मेवारीको अर्थ पनि थाहा छ,’ हकलेले भने, ‘क्रिकेट अस्ट्रेलियाको नेतृत्व गर्नु भनेको मेरो करियरको अहिलेसम्मको सबभन्दा ठूलो कुरा हो । म यो भुमिकामा पूर्ण रुपमा खरो उत्रिने प्रतिबद्धता जनाउन चाहन्छु ।’