सन्दिप लामिछाने

बलात्कार आरोपी पूर्वकप्तान सन्दिप पक्राउ

काठमाडौं । नाबालिग बलत्कारको आरोपमा फरार रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछानेले पक्राउ परेका छन् ।

सन्दिप  ११ बजे कतार एयरबेजको विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलमा अवतरण गरेलगत्तै उनी पक्राउ परेका हुन् ।

सन्दिपमाथि भदौ पाँच गते एक नाबालिगलाई सिनामंगलको होटलमा लगेर पटक–पटक बलात्कार गरेको अरोप लागेको छ । उनीमाथि गौशाला प्रहरी वृतमा उजुरी परेको थियो । पीडित किशोरीकै उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गत साता मात्र उनीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको थियो ।

सन्दिपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनलाई राष्ट्रिय टोली र कप्तानबाट निलम्बन गरेको थियो । 

क्याराबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दिप  नेपालमा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए ।