नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटको तालिका सार्वजनिक

काठमाडौं । आसन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशको पोखरामा केन्द्रित रहेर असोज २८ गतेदेखि सुरु हुने भए पनि महिला क्रिकेट २३ गतेदेखि सञ्चालन हुनेछ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ ।

कार्तिक एक गतेसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरु हुनेछन् ।

प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु असोज ३१ गते र फाइनल खेल कार्तिक एक गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ । भदौ २३ गतेदेखि ३१ गतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण, त्रिभुवन आर्मी क्लबले रजत र सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो ।