ट्वान्टी२०

दक्षिण अफ्रिकामाथि भारतको सहज जित

दिल्ली । भारतले बुधबार पहिलो ट्वान्टी२० खेलमा दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । 

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य भारतले १६.४ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गर्यो ।

भारतका ओपनर केएल राहुलले अविजित ५१ र सुर्यकुमार यादवले अविजित ५० रन जोडे । १७ रन जोड्दा दुई विकेट गुमाएको भारतका लागि राहुल र यादवले तेस्रो विकेटका लागि अविजित ९३ रन जोडेका थिए ।

राहुलले ५६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दा यादवले ३३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

यस जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।