आइसिसी विश्वकप क्रिकेट लिग २

अमेरिकामाथि नामिबियाको सहज जित

पोर्ट मोरेस्बी । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार सम्पन्न खेलमा नामिबियाले अमेरिकामाथि ६८ रनको जित दर्ता गराएको छ ।

एमिनी पार्कमा नामिबियाले प्रस्तुत गरेको दुई सय ५५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर एक सय ८६ रनमात्र बनाउन सक्यो ।

अमेरिकाका गजनन्द सिंहले सर्वाधिक ३२ रन बनाए । यस्तै, मोनान्क पटेलले ३०, साइतेजा मुक्कमल्लाले २९र क्यामेरुन स्टेभेन्सनले २८ रन बनाए ।

नामिबियाका बर्नार्ड स्कोल्जले सर्वाधिक तीन विकेट लिए । यसबाहेक, तन्गेनी लुङ्गामेनीले दुई तथा रुवेन ट्रेम्पेलम्यान र जेरार्ड इरास्मसले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको नामिबियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ५४ रनको योगफल तयार गरेको थियो ।

नामिबियाका कप्तान इरास्मसले सर्वाधिक ८७ रन बनाएका थिए । यस्तै, ओपनर लो ह्यान्ड्री लोरेन्सले ५७, स्टेफन बार्डले ५३ र जे जे स्मिथले २९ रन बनाएका थिए ।

अमेरिकाका सौरभ नेत्रवाल्करले तीन विकेट लिँदा क्यामेरुन स्टेभेन्सन र स्टेभन टेलरले समान एक विकेट लिएका थिए ।

जितसँगै २० खेलबाट २२ अंक जोडेको नामिबिया पाँचौ स्थानमा छ । यस्तै, ३२ खेलबाट २९ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ ।