नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः पहिलो स्वर्ण पुलिसलाई

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई आठ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जित्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेल वर्षाका कारण आठ ओभरमा घटाइएको थियो । जसमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको आर्मीले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर एक सय चार रनको योगफल तयार गर्यो ।

एक सय पाँच रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पुलिसले ६.५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो ।

पुलिसको जितमा कुशल भुर्तेलले र सुनिल धमलाले आक्रामक ब्याटिङ गरे । कुशलले १९ बलमा तीन चौका र ६ छक्कासहित ५१ रन बनाउदा सुनिल धमलाले १७ बलमा दुई चौका र चार छक्कासहित ४२ रन बनाए ।

आर्मीका जितेन्द्र मुखिया र सुसन भारीले समान एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा आएको आर्मीका कप्तान विनोद भन्डारीले सर्वाधिक ४० रन बनाएका थिए । यसबाहेक, रोहित पौडेलले २८, कुशल मल्लले १३ र भिम सार्कीले ११ रन बनाएका थिए ।

पुलिसका गुल्सन झा र ललित राजवंशीले समान दुई विकेट लिँदा राशिद खान र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

पुलिससँग पराजित भएसँगै आर्मीले रजत पदकमा चित्त बुझाएको छ । यस्तै, पुरुष क्रिकेटको कांस्य भने सुदूरपश्चिम प्रदेशले जित्यो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको थियो । तर हालै मात्र गृहमन्त्रालयले सो समयमा सुरक्षा उपलब्ध गराउन नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० दुई महिना पछिका लागि सारिसकेको छ ।