नवौं राष्ट्रिय खेलकुद

टस जितेपछि सुदूरपश्चिम कास्य पदक विजेता

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कास्य पदक जितेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम र एनआरएनए एकेडेमीबीच खेल हुने तालिका रहे पनि वर्षाका कारण सम्भव नभएपछि कास्य पदकको निर्णय टसबाट गरिएको हो ।

खेल सम्भव नभएपछि पदकका लागि भएको टस सुदूरपश्चिमले जित्यो  र कास्य पदकमा आफ्नो नाम लेखायो ।

त्यसअघि विहान हुने भनिएको खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङको निर्णय गरेको थियो । तर, वर्षाका कारण सुदूरपश्चिम ब्याटिङका लागि मैदानमा भने आउन सकेको थिएन ।

आजै हुने प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको थियो । तर हालै मात्र गृहमन्त्रालयले सो समयमा सुरक्षा उपलब्ध गराउन नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० दुई महिना पछिका लागि सारिसकेको छ ।