पिएनजीविरुद्ध नेपाल, विक्रमको शानदार ‘डेब्यु’

काठमाडौं, (खेलाडी)- विक्रम शोभले दुई विकेट लिएपछि नेपालले पपुवा न्युगिनीविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा मंगलबार राम्रो सुरुआत गरेको छ । 

टस हारेर पहिला फिल्डिङलाई निम्त्याइएको नेपालका लागि विक्रमले धारिलो बलिङ गर्दै चार ओभर सकिँदा दुई विकेट लिइसकेका थिए । 

उनले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड गर्दै पवेलियनको बाटो देखाए । दोस्रो ओभरको पहिलो बलमा उरा पवेलियन फर्किँदा पपुवा न्युगिनीको स्कोर एक मात्र थियो ।

एकदिवसीय क्रिकेटमा डेब्यु जनाउने क्रममा विक्रमले दोस्रो सिकारका रुपमा उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भालालाई आउट गरे । चार रन बनाएका भेलालाई विक्रमले आरिफ शेखको हातबाट क्याच गराएका थिए ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा जारी खेलको पछिल्लो स्थितिमा पपुवा न्युगिनीले नौं ओभरको समाप्तीमा दुई विकेट गुमाउँदै ४४ रन बनाएको छ । 

विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको शृंखला खेल्न लागेको हो । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ । 

विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका र ओमानका राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिदेशीय शृंखला भदौ २८ देखि असोज चार गतेसम्म ओमानमा हुनेछ ।