न्यजिल्यान्डमाथि बंगलादेशको रोमाञ्चक जित

ढाका, (खेलाडी)- कप्तान मोहमुदुल्लाहको अविजित ३७ रनप्रेरित बंगलादेशले शुक्रबार न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा चार रनको रोमाञ्चक विजय हासिल गरेको छ । 

मिरपुरस्थित शेरे बंगला नेशनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो ।

पाँच खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशले २-० को अग्रता लिएको छ ।

बंगलादेशका मोहमुदुल्लाहबाहेक ओपनर मोहम्मद नाइमले सबभन्दा धेरै ३९, लिटोन दासले ३३, विकेटकिपर नारुल हसनले १३ र साकिब अल हसनले १२ रन जोडे । न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिँदा अजिज पटेल, कोले म्याककोन्ची र हमिश बेन्नेटको नाममा एक/एक विकेट रह्यो ।

न्युजिल्यान्डका कप्तान टम लाथमले अविजित ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विल योङले २२, म्याककोन्चीले अविजित १५ र रविन्द्रले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बंगलादेशका मेहदी हसन र साकिबले समान दुई विकेट लिए । नासुम अहमदले एक विकेट लिए ।