एसिया कप

कोहली र राहुल टोलीमा फर्किए

दिल्ली । पूर्वकप्तान विराट कोहली र केएल राहुलले एसिया कप २०२२ का लागि भारतीय क्रिकेट टोलीमा पुनरागमन गर्दा तीब्र गतिका बलर जसप्रित बुमराले भने चोटका कारण प्रतियोगिता गुमाउने भएका छन् ।

भारतीय क्रिकेट बोर्डले लगातारको खराब लयका कारण कोहलीलाई गत महिना इङल्यान्डविरुद्धको एक दिवसीय र ट्वान्टी२० शृंखलाका साथै वेस्ट इन्डिज भ्रमणमा समेत आराम दिएको थियो ।

कोहली एसिया कपसँगै टोलीमा फर्कन लागेका हुन् । एसिया कप २०२२ अगस्ट २२ बाट सेप्टेम्बर ११ सम्म युएईमा हुनेछ । यसअघि श्रीलंकामा तय प्रतियोगिता त्यहाँको आर्थिक संकट र राजनीतिक गतिरोधका कारण युएईमा सरेको हो । 

राहुल भने कोभिड १९ संक्रमणका कारण टोलीबाट बाहिरिएका थिए । उनी एसिया कपमा भारतीय टोलीको उपकप्तान रहनेछन् ।

बुमरा ढाडको समस्याका कारण टोलीबाट बाहिर रहँदा हर्सल पटेल करङको चोटका कारण टोलीमा छैनन् ।

भारतले समूह ‘ए’ मा पाकिस्तान र छनोट चरण पार गर्दै आउने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश र अफगानिस्तान हेका छन् ।