टी१० लिग इन्डोर क्रिकेट

मिक्समाण्डु र टिम सुबिसु सेमिफाइनलमा

काठमाडौं । एस स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा ललितपुरको ग्वार्कोमा जारी टी१० लिग इन्डोर क्रिकेट प्रतियोगितामा मिक्समाण्डु र टिम सुबिसुले अन्तिम ४ मा स्थान बनाएका छन् ।

प्रतियोगिताको दोस्रो दिन आइतबार पहिलो खेलमा टिम सुबिसुले सुपरस्म्यासर्सलाई २५ रनले पराजित गर्यो । प्रतियोगिताको पहिलो दिन टिम सुबिसुले थेम्स इन्टरनेसनल माथि जित दर्ता गरेको थियो ।

यस्तै, दिनको दोस्रो खेलमा प्रेसिडेन्सियल बिजनेस स्कुलले ट्वान्टी फर्स्ट रेस्ट्रो माथि ४३ रनलको जित हात पार्यो ।  प्रेसिडेन्सियलले प्रस्तुत गरेको ८७ रनको लक्ष्य पछ्याएको ट्वान्टी फर्स्ट रेस्ट्रो केवल ४३ रनमा समेटिएको थियो ।

दिनको तेस्रो तथा आफ्नो दोस्रो खेलमा सुपस्म्यासर्सले थेम्स इन्टरनेसनल कलेज माथी ४० रनको जित हात पार्यो । खेलमा सुरुआती ब्याटिङ गर्दै सुपस्म्यासर्सले दिएको एक सय चार रनको विशाल लक्ष्य पछ्याएको थेम्स ६३ रनमा समेटिएको थियो।

दिनको अन्तिम खेलमा मिक्समाण्डुले इ–हब माथि ७ विकेटको सहज जित दर्ता गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको इ–हब मिक्स्माण्डुको धारिलो बलिङको सामु ७.४ ओभरमा ३१ रनमा समेटिएको थियो ।

इ–हबलाई सस्तैमा समेट्न मिक्समान्डुका प्रतिष जिसिले दुई ओभरमा केवल पाँच रन खर्चिएर दुई विकेट हात पारे । प्रतिष खेलको ‘प्लेयर अफ् दि म्याच’ समेत घोषित भए । ३२ रनको सामान्य लक्ष्य मिक्समाण्डुले केवल २.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा पुरा गरेको थियो ।