नेपाली महिला क्रिकेट

हङकङसँग ७ विकेटले हार्यो नेपाल

काठमाडौं । एसिसी वुमन्स ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो ।

हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि एक सय ९ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् ।

यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट लिए ।

नेपाल हङकङसँग पराजित भएपनि एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ ।