बलियो नेपाल क्रिकेट

बलियो नेपाल कप यु १५ क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । बलियो नेपाल कप यु १५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बाग्मती प्रदेशले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेका छन्।

समूह चरणअन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश १ समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। शुक्रबार मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो लुम्बिनी प्रदेशविरुद्ध रोमाञ्चक जित दर्ता गर्यो। 

ओसिलो मैदानका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ गर्दै बलियो लुम्बिनी प्रदेशले सात विकेटको क्षतिमा एक सय नौ रन जोडेको थियो। लुम्बिनीका सन्तोष साउदले सर्वाधिक ३८ तथा रौनक श्रीवास्तवले १४ रनको योगदान गरे। 

बलियो प्रदेश १ का रुशल रिमालले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट आफ्नो नाम गरे।

जवाफमा एक सय १० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो प्रदेश १ ले एक बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। 

बलियो प्रदेश १ को जितमा आलोक मण्डलले ३७ रन तथा रबिन मण्डलले २४ रनको योगदान गरे। बलियो लुम्बिनी प्रदेशका आयुष ओलीले तीन विकेट हात पारे । 

खेलको प्लेयर अफ दि म्याच बलियो प्रदेश १ का आलोक मण्डल घोषित भए।

यस्तै, दिनको दोस्रो खेलमा बलियो मधेश प्रदेशले बलियो ११ लाई ४६ रनले पराजित गर्दै समूह ‘बी’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बलियो मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन जोडेको थियो। मधेशका राहुल कुमार महतोले सर्वाधिक ६२ रनको योगदान गरे। यस्तै, विशाल यादव २० रन बनाएका थिए।

बलियो ११ को बलिङमा जेनिश पुन मगर र प्रतिक पण्डितले समान दुई विकेट हात पारे।

एक सय ३२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो ११ ले १८.५ ओभरमा सबै विकेट गुमाउनुअघि ८५ रन मात्र जोड्न सक्यो। बलियो ११ का ओपनर इजाज उल हकले अविजित ४० तथा कप्तान स्मिथ बुढाले १५ रन जोड्न बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलियो ११ लाई सस्तैमा समेट्न बलियो मधेश प्रदेशका साइमन रोए र रोहन शाहले दुई/दुई विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच राहुल कुमार महतो घोषित भए।

शनिबार हुने पहिलो सेमिफाइनलमा बलियो प्रदेश १ र बलियो बाग्मती प्रदेश तथा दोस्रो सेमिफाइनल खेलमा बलियो मधेश प्रदेश र बलियो गण्डकी प्रदेश भिड्नेछन् ।