नेपाली महिला क्रिकेट टोली

एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपः नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

क्वालालम्पुर । एसिसी महिला ट्वान्टी २० च्याम्पियनपसिपअन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार गर्यो ।

खराब सुरुआत गरेको नेपालले १२ रन बनाउँदा दुवै ओपनरसहित तीन विकेट गुमाइसकेको थियो । त्यसपछि उपकप्तान इन्दु वर्माले २६ बल खेलेर २० तथा काजल श्रेष्ठले ३५ बल खेलेर २६ रन बनाइन् ।

चौथो विकेटका लागि उनीहरुले ३२ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भुटानका लागि सोनामा पाल्दोनले ४ ओभरमा १३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिइन् । अन्य दुई बलरले एक–एक विकेट लिँदा बाँकी विकेट नेपालले रन आउटमा गुमाएको थियो ।

दोस्रो इनिङमा अहिले ब्याटिङ गरिरहेको भुटानले ६ ओभर सकिँदा ३ विकेट गुमाएर ११ रन बनाएको छ । नेपालका लागि कविता कुँवरले २ तथा अस्मिना कर्माचार्यले एक विकट लिएका छन् ।