नेपाली क्रिकेट

स्कटल्यान्ड भ्रमण गर्नुअघि नेपालले क्यानडासँग ट्वान्टी २० र एकदिवसीय शृंखला खेल्ने

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई ट्वान्टी र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम उतैबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको शृंखलाअघि क्यानडा भ्रमण गर्न लागेको हो ।

नेपालले क्यानडामा घरेलु टिमविरुद्ध पहिले ट्वान्टी २० शृंखला खेल्नेछ । नेपालले जुन २८ मा पहिलो ट्वान्टी २० खेल खेल्नेछ । यस्तै, नेपालले जुन २९ मा दोस्रो खेल खेल्नेछ ।

नेपालले जुलाई चारमा एकदिवसीय शृंखलाको पहिलो खेल खेल्नेछ । यस्तै, जुलाई पाँचमा नेपालले दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमले घरेलु टिमसहित ओमान सहभागी रहेको त्रिदेशीय शृंखला खेलेको थियो । शृंखलाको चार खेलमध्ये दुई खेलमा हार बेहोर्दा एक खेलमा जित निकालेको थियो । यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो ।