आइसिसी विश्वकप क्रिकेट लिग २

लिग २ः नेपाल अमेरिकासँग पराजित

ह्युस्टन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तिम खेलमा घरेलु टोलीसँग ३९ रनले पराजित भएको छ ।

पियरल्यान्डस्थित अमेरिकाले दिएको दुई सय ४६ रनको लक्ष्य पछ्याएको नेपाललले ४७.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ६ रनमात्र बनाउन सक्यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ६३ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । आरिफबाहेक सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८ र रोहित पौडेलले १६ रन बनाए ।

नेपाललाई सस्तैमा समेट्न अमेरिकाका सौरभ नेत्रावल्कर र अली खानले समान तीन विकेट लिए । यस्तै, नोस्थुस केन्जिगे र निसार्ग पटेलले एक–एक विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ४५ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका सुशान्त मोदानी र गजानन्द सिंहले अर्धसतकीय इनिङ खेले । सुशान्तले ८३ बलमा सात चौकासहित ५४ रन बनाउँदा गजानन्दले ६० बलमा पाँच चौका र एक छक्कासहित ५८ रन जोडे ।

यसबाहेक, आरोन जोनसले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसार्गले १८ र क्यामेरोन स्टेभनसनले १६ रन जोडे ।

नेपालका करण केसीले तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।

नेपालले अमेरिका भ्रमणका दौरान खेलेका चार खेलमध्ये एकमा जित, एकमा ‘टाइ’ र दुईमा हारको नतिजासहित टुङ्ग्याएको छ । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ हुँदा तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो ।

लिगमा १६ खेलबाट १५ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ । यस्तै, २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथो स्थानमा टछ

लिगमा सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ ।