तेस्रो दिनमा सम्हालिँदै भारत, पुजारा र रोहित शर्माको अर्धसतक

लन्डन, (खेलाडी)- चेतेश्वर पुजारा र ओपनर रोहित शर्माको अर्धशतकमा भारतले शुक्रबार तेस्रो टेस्टको तेस्रो दिन घरेलु टोली इङल्यान्डविरुद्ध सम्हालिएको प्रदर्शन गरेको छ ।

तेस्रो दिनको खेल समाप्तीमा भारत २१५-२ मा खेलिरहेको छ । भारत अझै इङ्ल्यान्ड भन्दा १ सय ३९ रनले पछि छ । भारतका पुजारा अविजित ९१ र कप्तान विराट कोहली अविजित ४२ रनमा खेलिरहेका छन् । पुजाराले १ सय ८० बलमा १५ चौका प्रहार गर्दा कोहलीले ९४ बलमा ६ चौका प्रहार गरे ।

यसअघि ४२३-८ बाट तेस्रो दिनको खेल सुरु गरेको इङल्यान्डले थप ९ रन जोड्दा बाँकी २ विकेट गुमाएको थियो । पहिलो इनिङमा भारत ७८ रनमा सिमित भएको थियो । इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ९४ रनको अग्रता लिएको थियो ।

शुक्रबार तेस्रो दिनको खेल सुरु गरेको भारतले ३४ रन जोड्दा ओपनर केएल राहुललाई गुमायो । त्यसपछि ब्याटिङका लागि आएका पुजाराले रोहितसँग दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । रोहितले १ सय ५७ बलमा ७ चौका र १ छक्का मद्दतमा ५९ रन जोडे । त्यस्तै पुजाराले तेस्रो विकेटका लागि कोहलीसँग अविजित ९९ रनको साझेदारी गरिसकेका छन् ।

पाँच टेस्टको शृंखलामा भारत १-० ले अघि छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो ।