नेपाल टी २०

कुनै पनि बोर्डले कमर्सियल पार्टनर भित्राउँदा बिडिङ गर्दैनः सचिव मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले अन्य राष्ट्रमा चलेकै परिपाटी पछ्याउँदै खुला प्रतिस्पर्धाबिनै भारतीय कम्पनी सेभेन थ्री स्टार कम्पनीलाई नेपाल टी२० लिगको कमर्सियल पार्टनरको रुपमा छनोट गरेको बताएका छन् ।

‘कुनै पनि बोर्डले कमर्सियल पार्टनर भित्राउँदा बिडिङमार्फत गरिदैन । यो नेपाल क्रिकेट संघको आफ्नो सम्पत्ति हो,’ मल्लले भने, ‘हामीसँग विभिन्न कम्पनी र मानिसहरु नेपाल टी२० क्रिकेट लिगको कमर्सियल पार्टनरमा इच्छुक रहेको भन्दै सम्पर्कमा आउनु भएको थियो । हामीलाई सबैभन्दा आकर्षक प्रस्ताव भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसबाट आयो । हामीले यसबारेको छलफल क्यानको साधरणसभामा लगेर त्यहाँबाट पास गरेका हौ । यो सांसरभर चलेको परिपाटी हो ।’

क्यानको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी२० लिग सेप्टेम्बर २४ देखी अक्टोबर २२ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । जहाँ नेपालका विभिन्न ६ सहरको प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टोली सहभागी हुनेछन् ।

कमर्सियल पार्टनरको रुपमा रहेको सेभेन थ्री स्पोटर्सले क्यानसँग आठ वर्षको सम्झौता गरेको हो । जसअन्तर्गत सेभेन थ्री स्पोटर्सले क्यानलाई कुल ३३ करोड रुपैयाँ दिनेछ । वार्षिक रुपमा भने क्यानले चार करोड १२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

मल्लले सेभेन थ्री स्पोटर्सले सम्झौतापछि नै क्यानको खाता १५ प्रतिशत रकम जम्मा गरिसकेको र सम्झौताको ४५ दिन भित्र थप १५ प्रतिशत रकम उपलब्ध गराउने तथा प्रतियोगिता सुरु हुनु एक दिन अघि नै बाँकी ७० प्रतिशत रकम उपलब्ध गराउने सहमति भएको पनि जनाए  ।