आइपिएल

सनराइजर्स हैदराबादको प्लेअफ सम्भावना कायमै

हैदराबाद । सनराइजर्स हैदराबादले सोमबार मुम्बई इन्डियन्समाथि तीन रनको रोमाञ्चक जितसहित इन्डियन प्रियिमर लिग (आइपिएल) को प्लेअफ प्रवेश सम्भावना जीवित राखेको छ । 

राहुल त्रिपाटीको ७६ रन मद्दतमा हैदराबादले वान्खडे स्टेडियममा ६ विकेट क्षतीमा एक सय ९३ रनको योगफल तयार पारेको थियो ।

एक सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९० रन मात्र जोड्न सक्यो ।

मुम्बईका ओपनर इसन किसन र कप्तान रोहित शर्माले पहिलो विकेटका लागि ९५ रनको साझेदारीका साथ उत्कृष्ट सुरुआत दिलाएका थिए । शर्माले ३६ बलमा दुई चौका र चार छक्का मद्दतमा ४८ तथा किसनले ३४ बलमा पाँच चौका र एक छक्का मद्दतमा ४३ रनको योगदान गरे । 

त्यस्तै टिम डेविडले १८ बलमा तीन चौका र चार छक्का मद्दतमा ४६ रन जोडे ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १९ रनको आवश्यक थियो । फाजलहक फारुकीले अन्तिम ओभरको पहिलो बल वाइड फाले । फारुकीको दोस्रो र तेस्रो बलमा रमनदिप सिंहले समान दुई रन र चौथो बलमा चौका प्रहार गर्दै मुम्बईलाई  जितनजिक पुर्याएका थिए । पाँचौ बलमा रन प्रहार नगर्न नसकेका सिंहले अन्तिम बलमा छक्का प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९३ रनको योगफल खडा गरेको थियो ।

हैदराबादका त्रिपाटीले ४४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै प्रियम गार्गले ४२ र निकोलस पुरनले ३८ रन जोडे ।

१३ खेलमा १२ अंबक जोेडेको हैदराबाद आठौं स्थानमा छ । हैदराबाद चौथो स्थानको दिल्ली क्यापिटल्स भन्दा मात्र दुई अंकले पछि छ ।