नेपाली क्रिकेट

दोस्रो खेलमा नेपाल एक विकेटले पराजित

काठमाडौं । पाँख खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको छ । जितसँगै पाँच खेलको शृंखलामा युगान्डाले २-० अग्रता बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय दुई रनको लक्ष्य युगान्डाले निर्धारित ओभरको एक बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गर्यो ।

युगान्डाको जितमा रिता मोसामालीले सर्वाधिक ३० रन बनाइन् । उनले ३४ बलमा तीन चौका प्रहार गरिन् । यस्तै, फ्यांक्लिन नाज्जुम्बाले १९ रन बनाउँदा जनेत एम्बाबाजीले १६ रन बनाइन् ।

नेपालकी कविता कुँवर र सबनम राईले समान दुई विकेट लिए । यसबाहेक, सिता रानामगर र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय एक रनको योगफल खडा गरेको थियो ।

नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन् । विन्दुले ३६ बलम दुई चौका प्रहार गरेकी थिइन् । यस्तै, सरिता मगरले २२ र कप्तान रुविना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

नेपालको खातामा डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रन थपिन् । यस्तै, कविता जोसी भने डक आउट भइन् ।

युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए ।

नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो ।

नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।