नेपाली क्रिकेट

युगान्डालाई नेपालले दियो १०२ रनको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ट्वान्टी २० शृंखलाअन्तर्गत युगान्डाविरुद्धको दोस्रो खेलमा एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय एक रनको योगफल खडा गर्यो ।

नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाइन् । विन्दुले ३६ बलम दुई चौका प्रहार गरिन् । यस्तै, सरिता मगरले २२ र कप्तान रुविना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालको खातामा डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रन थपिन् । यस्तै, कविता जोसी भने डक आउट भइन् ।

युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए ।

नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो ।

नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।