रुबिना क्षेत्री

'सीताको कमी खड्कियो'

काठमाडौं । युगान्डविरुद्ध जारी ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पराजति भएपछि राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले टिममा सीता रानाको कमी खड्किएको प्रतिक्रिया दिएकी छन् ।

त्रिवि क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खलिरहेको नेपाली टिम सोमबार भएको पहिलो खेलमा युगान्डासँग १२ रनले पराजित भएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले १ सय ३ रनको लक्ष्य पाएको थियो ।

तर, पूरा २० ‌ओभर खेल्दा ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सकेको नेपालले घरेलु मैदानमा भएको पहिलो शृंखलाको सुखद् सुरुआत गर्न सकेन ।

'हामीले धेरैपछि क्रिकेट खेल्यौं, त्यसको उत्साहले पनि होला... खेलाडीहरू 'नर्भस' देखिए,' खेलपछिको पत्रकार सम्मलेनमा कप्तान रुबिनाले भनिन्, 'पहिलो खेलमै हार्नु राम्रो सुरुआत भएन  । हामीले अझै मेहनत गर्नुपर्ने देखियो ।'

ब्याटिङमैत्री विकेट भए पनि रणनीतिअनुसार खेल अगाडि नबढेको उनले बताइन् ।

'आजको विकेट फ्ल्याट थियो । ब्याटिङमैत्री विकेट थियो । हाम्रो रणनीति ६ ओभरमा विकेट नगुमाउने थियो तर, मिडल ओभर कोल्याप्स भयो । आफैं आउट हुँदा त्यो मोमेन्ट मैले ल्याउन सकिँन,' उनले भनिन्, 'नेटको ब्याटिङले अफ्ठेरो भयो ।'

पहिलो खेलमै पराजित भएपछि शृंखलामा १-० ले पछि परेको नेपाली टिम बाँकी चार खेलमा कसरी पुनरागमन गर्ने भन्नेमा केन्द्रित हुने रुबिनाले सुनाइन् ।

'सिरिजमा कसरी कमब्याक गर्ने त्यसमा लाग्छौं  । सीता आएपछि टिममा पक्कै पर्नेछिन् । खेलाडी छनोटको विषय बोर्ड निर्णय हो । युवा खेलाडीलाई चान्स दिएको भन्ने थियो । सीता नहुँदा उनको कमी खड्कियो । उ महत्त्वपूर्ण खेलाडी हो । म सीता नहुँदा अरू खेलाडीलाई पनि हामीले प्रमोट गर्नुपर्छ । मानसिक रूपमा तयार गर्नुपर्छ,' उनले भनिन् ।

लामो सयमयता नेपाली राष्ट्रिम टिमको कप्तानी सम्हालिरहेकी रुबिनाले कम्तिमा १ वर्ष नेतृत्व गर्ने संकेत गरिन् ।

कप्तानी कहिलेसम्म भन्ने प्रश्नको जवाफ दिँदै रुबिनाले भनिन्, 'मलाई लाग्छ एउटा बेला आउँछ । नयाँ कप्तान आउन नै उपकप्तान चेन्ज भएको होला । ठीक समयमा मौका दिनुपर्छ । म धेरै समय (कप्तानी) पनि गर्दिन होला । बोर्डले अब यस्मा केही गर्छ कि ?'

नेपाली टिमलाई अवसरको खाँचो रहेको बताउँदै रुबिनाले खेलाडीको लय तलमाथि हुनु सामान्य रहेको समेत बताइन् ।

'म सँधै राम्रो गर्न तयार हुन्छु । एक वा एक वर्ष र आधा हामी (टिममा) बस्नै पर्छ । नयाँलाई तयार गर्न पनि समय बाँकी छ । त्यो समयसम्म टिम ब्यालेन्समा आउँछ । (सिनियर खेलाडीले) बीचैमा छोड्दा लथालिङ्ग हुने डर हुन्छ,' रुबिनाले भनिन् ।

युगान्डाकी कप्तान कोन्सी अवेकोले नेपाल र युगान्डाबीचको टिम करिब उस्तै भएकाले खेल बराबरीको भएको प्रतिक्रिया दिइन् ।

'आजको खेल बराबरी टिमबीच नै थियो । १०० रन कटाउनै पर्छ भन्ने हामीमा थियो,' उनले भनिन् ।

'नेपालको मौसम हामीलाई सुहाउँदो नै छ । सबै चिज राम्रो छ,' उनले भनिन्, 'मानसिक र शारिरीकरूपमा तयार छौं । हाम्रो लक्ष्य पाँच खेल नै जित्नु हो । र हामी त्यसका लागि राम्रो 'पोजिसन'मा पनि छौं ।'