ट्वान्टी २० अन्तराष्ट्रिय शृंखला

ट्वान्टी २० शृंखला: युगान्डासँग १२ रनले हार्यो नेपाल

काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा युगान्डा महिला टिमसँग नेपाली महिला टिम १२ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

ब्याटिङमा निरिह देखिएको नेपालका लागि ओपनर विन्दु रावल २३ बलमा २ चौकासहित १२ रन बनाएर पेभेलियन फर्केकी थिइन् । अर्की ओपनर विकेटकिपर-ब्याटर ज्योति पाण्डे ६ रन बनाएर आउट भइन् ।

इन्दु बर्मा २८ बलमा १६ रन बनाएर पेभेलियन फर्किँदा कप्तान रुबिना क्षेत्री ९, अप्सरी बेगम १, कविता जोशी ४, रोमा थापा ५, डोली भट्ट १३ र डेब्युट्यान्ट अस्मिना कर्माचार्य शून्यमा पेभेलियन फर्किन् । नेपालका लागि १०औं नम्बरमा ब्याटिङमा आएकी कविता कुँवर ११ रनमा अविजित रहिन् ।

युगान्डाका लागि कोन्ची अवेको र सारा एकिटेङले २/२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १/१ विकेट लिए ।

पहिलो इनिङमा युगान्डाका लागि केभिन अभिनोले १५, यानेट एम्बाबाजीले २९, फ्रान्कलिन नाइजुम्बाले १२, रिता मुसामालीले १३, रिता न्यानगेन्डोले १८ तथा एवेलिन एनिपोले ५ रन बनाउँदा लियोना बाब्रिए शून्यमा आउट भएकी थिइन् ।

नेपालका लागि कविता कुँवरले २ र कप्तान रुबिना क्षेत्री, कविता जोशी इन्दु बर्माले १/१ विकेट लिए ।

नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय शृंखला खेलेको हो ।

नेपालले दोस्रो ट्वान्टी २० भोलि खेल्ने छ ।