नेपाली महिला क्रिकेट

घरेलु मैदानमा ऐतिहासिक क्रिकेट शृंखला खेल्दै नेपाली महिला टिम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि सोमबार (भोलि) एक ऐतिहासिक दिन हो । कारण, नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेल्दैछ ।

विश्व क्रिकेटमा महिला क्रिकेट टोलीको उपस्थिती पनि पुरुष जत्तिकै रहे पनि नेपाली खेलकुदमा यसको खासै चर्चा भएको पाइँदैन । घरेलु होस् वा अन्तर्राष्ट्रियस्तर, नेपाली महिला क्रिकेटले पुरुषको तुलनामा निकै कम प्रतियोगिता खेल्ने अवसर पाउँछन् ।

पुरुष टोलीले गत वर्षको वैशाखदेखि घरेलु मैदानमा तीन अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्दा महिला टोलीले भने हालसम्म घरेलु मैदानमा शृंखलाको अनुभव बटुल्न पाएको छैन ।

यसैकारण भोलि नेपाली महिला क्रिकेट इतिहासको ऐतिहासिक दिन बन्ने छ । अफ्रिकी टिम युगान्डाविरुद्ध मैदान उत्रिँदा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखलाको अनुभव बटुल्ने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको शृंखला लागि युगान्डाको टिम आज (आइतबार) नेपाल उत्रिँदै छ । नेपाल आएको भोलिपल्ट नै युगान्डाले घरेलु टोली नेपालको सामना गर्नेछ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टिमको नेतृत्व रुविना क्षेत्रीले सम्हाल्ने छिन् । शृंखलाको लागि घोषित १६ सदस्यीय नेपाली टिममा केही अनुभवी खेलाडी स्थान पाउँदा नेपाल क्रिकेट संघ (क्यान) ले धेरै युवा खेलाडीरुले मौका दिएको छ । जो आफूलाई प्रमाणित गर्ने अवसरको खोजीमा छन् ।

सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला क्रिकेट टिमको अन्तर्राष्ट्रिय क्षेत्रमा उदय भएको थियो । त्यसयता, नेपाली टिमले घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्यो । जहाँ नेपाली टोलीले कास्य पदक जितेको थियो ।

नेपाली टिमका प्रशिक्षक जगत टमटा खेलाडी पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेल्न आत्तुर रहेको बताउँछन् । यस्तै, उनि घरेलु मैदानमा खेल्न युवा खेलाडीलाई ‘च्यालेन्ज’ हुने समेत जनाउँछन् ।

‘घरेलु मैदानमा खेल्न आतुर छन् । युवा खेलाडी समेत रहेकाले आफ्नै मैदानमा खेल्न ‘च्यालेन्ज’ छ’, प्रशिक्षक टमाटा भन्छन् ।

टमाटा युवा खेलाडीलाई अवसर दिँदा भविष्यमा धेरै खेलाडी आउने समेत बताउँछन् ।

‘युवा खेलाडी निकै क्षमतावान छन् । यस्ता खेलाडीले अवसर पाउँदा पछाडीलाई टिम बनाउन समेत सहज हुनेछ । यो एउटा शृंखला हैन । वर्षमा यस्ता ५–६ शृंखला भए राम्रो टिम र धेरै खेलाडी उत्पादनमा निकै सहयोग पुग्छ ।’

प्रशिक्षक टमटाले शृंखलाको लागि घोषणा गरेको १६ सदस्यीय टोलीमा अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । बागमती प्रदेशको कप्तानी गर्दै आएकी तिव्र गतिकी बलर अस्मिना यसअघि बन्द प्रशिक्षणमा रहे पनि राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी हुन् । यता, यु १९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी हुन् ।

यसअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो ।

प्रशिक्षक टमाटा युगान्डाको स्तर नेपालको जस्तै रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउँछन् । हाल नेपाल आइसिसी ट्वान्टी २० वरियतामा १६औं स्थानमा छ भने युगान्डा १९औं स्थानमा छ ।

‘युगान्डा र हाम्रो स्तर बराबर छ । दुबैमा युवा खेलाडीको सम्मिश्रण छ । खेल प्रतिस्पर्धात्मक हुन्छ,’ टमाटा भन्छन् ।

नेपाल र युगान्डाबीचको खेल भोलि (सोमबार)बाट सुरु हुनेछ भने ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौ ७ जेठमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । खेलका हेर्न दर्शकलाई मैदान प्रवेश निःशुल्क समेत गरिएको छ ।

यता, नेपाली टिमकी सदस्य इन्दु वर्मा टिमको तयारी राम्रो भएको र यस्ता शृंखला खेलाडीको लागि क्षमता प्रदर्शन गर्न आधार रहने बताउँछिन् ।

‘तयारी राम्रो छ । यस्तो शृंखला हुँदै गए महिला टिम राम्रो हुँदै जानेछ र यसरी खेल्न पाए क्षमता देखाउने छौं,’ उनले भनिन् ।

नेपाली टोलीः

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता राना मगर, हिरणमयी रोय, बिन्दु रावल ।