नेपाल टी २०

हामी बेटिङ कम्पनी होइनौं: सेभेन थ्री स्पोर्ट्स

काठमाडौं । नेपाल ट्वान्टी २० लिग आयोजनाको अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स प्रालीले कुनै पनि ‘बेटिङ र ग्याम्बिलिङ’ गतिविधिमा संलग्न नरहेको बताएको छ ।

खेलाडी डटकमले यसअघि छापेको समाचारप्रति प्रतिक्रिया जनाउँदै आफ्नो कम्पनी बेटिङ लगायत कुनै पनि अवैध कार्यमा संलग्न नरहेको सेभेन थ्री स्पोर्ट्सकी निर्देशक सपना अलुवालियाले बताएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल ट्वान्टी २० लिगको अधिकार खरिद गरेको सेभेन थ्री स्पोर्ट्सले यसअघि फिफा विश्वकप २०१४, फ्रेन्च ओपन, बंगलादेश प्रिमियर लिगलगायत मेगा इभेन्टहरूको समेत प्रशारण अधिकार खरिद/बिक्रीको काम गरिसकेको उनले बताएकी छन् ।

आफ्नो कम्पनीबारे बेटिङ र ग्याम्बलिङमा संलग्न रहेको भन्दै ‘गलत’ जानकारी दिने भारतीय कम्पनी ‘फाल्कोन इबिज’विरुद्ध आवश्यक कानुनी कारबाहीका लागि प्रक्रियासमेत अगाडि बढाइसकेको निर्देशक अलुवालियाले बताएकी छन् ।

क्यानले जनाए अनुसार सेभेन थ्री स्पोर्टसले टोली निर्माण, प्रायोजक खोज्ने, टेलिभिजन प्रसारण अधिकार, विदेशी खेलाडी अनुबन्ध गर्ने जस्ता सबै खाले अधिकार पाएको छ ।